Logo

भारतीय वायु सेनाका दुई जहाज विवादास्पद कस्मिरमा खस्यो



काठमाडौं, १५ फागुन । भारतीय वायु सेनाका दुई जहाज विवादास्पद कस्मिरमा खसेको भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले जनाएको छ।

समाचारमा जनाइएअनुसार बुधबार बिहान साढे १० बजे दुई जहाज खसेका थिए।  पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल असिफ गफुरले पाकिस्तानी वायु सेनाले भारतीय वायु सेनाका दुई जहाज खसालेको दाबी गरेका छन्। सीमा नाघेर पाकिस्तानी आकाशमा प्रवेश गरेका जहाज खसालिएको उनको दाबी छ।

भारतीय वायु सेनाको एउटा जहाज पाकिस्तान नियन्त्रित कस्मिरमा खसेको छ भने अर्को भारततिरको कस्मिरमा खसेको गफुरले ट्वीटमार्फत जनाएका छन्।  पाकिस्तान नियन्त्रित कस्मिरमा खसेको जहाजबाट एक पाइलटलाई पाकिस्तानी सैनिकले नियन्त्रणमा लिएको उनले जनाएका छन्।

भारतीय भूमिमा खसेको जहाजका पाइलट मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारत प्रशासित कस्मिरको प्रहरीले वायु सेनाका दुई जहाज खसेको बताएको छ तर कारण खुलाएको छैन।

यसअघि मंगलबार बिहान भारतीय वायु सेनाका जहाजले पाकिस्तानको बालाकोटमा बम खसालेका थिए।  भारतीय पक्षले बमवारीबाट आतंकवादी समूह जैस-ए-मोहम्मदको तालिम अखडा ध्वस्त भएको र उसका कमाण्डरसहित कैयौं लडाकु मारिएको दाबी गरेको छ। भारतीय मिडियाले यसलाई मोदी सरकारको ठूलो सफलताका रूपमा प्रचार गरिरहेका छन्।

पाकिस्तानको खाइबर पाख्तुन्ख्वा प्रान्तको बालाकोटमा भारतीय सैनिक जहाजले खसालेको बम जंगलमा खसेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। घटनास्थलमा पुगेर स्थानीयसँग कुराकानी गर्दा बमवारीबाट एक जना घाइते भएको खुलेको रोयटर्सले जनाएको छ।

एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्

Screenshot