Logo

शान्ति प्रक्रियाका बाँकी काम कछुवा गतिमा : प्रचण्ड



गोरखा, १५ फागुन । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने काम कछुवा गति गइरहेको बताउनु भएको छ ।

मंगलबार गोरखामा आयोजित जनयुद्धका प्रथम शहीदकाे स्मृति कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्य निरुपण र मेलमिलाप तथा वेपत्ता छानबिन आयोेगले काम गरेको भए पनि कछुवा गतिमा रहेका बताउनु भएको हो । अब सत्य पत्ता लगाउने र मेलमिलाप गराउने गरी शान्ति प्रक्रियाका बाँकी सबै काम टुंग्याइने उहाँले बताउनुभयो ।

‘त्यतिबेला युद्वद्वारा क्षति भएका परिवार, चाहे ती माओवादी हुन्, चाहे कांग्रेस हुन्, चाहे पुलिस सेना हुन्, चाहे अरु पार्टीका हुन्, सबैलाई परिपूरण दिने र पीडितहरुलाई मलम पट्टी लगाएर मेलमिलाप कायम गर्ने आयोगको काम हो,’ उहाँले भन्नुभयो ।

मानवीय अपराधका केही प्रतिनिधिमूलक घटनामा भने दोषीलाई कारबाही पनि गरिने उहाँले बताउनुभयो । ‘साह्रै ठूला मानवीय अपराध भएका छन् भने केही प्रतिनिधिमूलक घटनाहरुलाई कारबाही पनि गर्ने गरेर सामाजिक मेलमिलाप कायम गर्नेतिर हामी अगाडि बढेका छौं’ उहाँले भन्नुभयोे, ‘म शहीद, वेपत्ता र युद्धद्वारा पीडित परिवार सबैलाई म भन्न चाहन्छु, छिट्टै यो काम टुंगिँदैछ ।’

फरक प्रशंगमा बोल्दै प्रचण्डले जनताले दुई तिहाईको सरकार गठन गर्दा पनि अनुभूत हुनेगरी काम हुन नसकेको बताउनुभयो । उहाँले चुनावमा गरेका बाचा पूरा नहुँदा जनताले दिने प्रतिक्रिया नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र आफूलाई पनि ज्ञात भएको बताउनुभयो ।

‘यो बीचमा केही राम्रा काम शुरु भएका छन । तर दुई तिहाईको सरकार भएका बेला नेपाली जुन गतीको साथ विकास होला निर्माण होला फटाफट काम होला भ्रष्टहरूमाथि कारबाही होला सुशासन होला लागेको थियो त्यो हुन सकेको छैन, ’ अध्यक्ष प्रचण्डले भन्नुभयो । पूर्वाधार निर्माण, बृद्धभत्ता, शिक्षा, स्वास्थ्य, रोजगारका काम जनताले आफ्नो सरकार आयो भन्ने सोच्ने, भोग्ने र अनुभूत गर्नेगरी अबको बजेटमा व्यवस्था गर्न प्रधानमन्त्री र आफूबीच कुरा चलिराखेको अध्यक्ष प्रचण्डको भनाई थियो । उहाँले अहिले दुवैजनाबीच नयाँ बजेटको बारेमा छलफल भइरहेको पनि जानकारी दिनुभयो ।

उहाँले चुनावमा गरेका बाचा पूरा गर्ने हिसाबले नयाँ बजेटको तयारी भइरहेको बताउनुभयो । ‘अब बनाउने बजेटमा हामीले यो पटक नसकेका कुरा जनताले देख्ने, बुझ्नेगरी व्यवस्था गर्ने छलफल भइरहेको छ, ’ प्रचण्डले भन्नुभयो । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षा भत्ताको व्यवस्थाको प्रशंंसा गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘अब हाम्रो सरकार आयो भनेर जनताले बुझ्ने गरी बजेट बनाउने तयारी भइरहेको छ ।’ उहाँले अबको बजेटमा बृद्धभत्ता पाँच हजार पुर्याउने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot