Logo

‘भन्सारमा बरामद सामानको लाखौँ लुट नहोस्’



काठमाडौँ, २२ फागुन । अस्थायी शिक्षकको आन्दोलन, हात्ती आक्रमण, पूर्वाधार निर्माण, महिला श्रमिक दिवस, भन्सार विन्दुमा बरामद गरिएको सामानलगायत विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद लक्ष्मी परियारले अस्थायी शिक्षकमाथि बरबरतापूर्ण तवरले प्रहरी हस्तक्षेप भएको जनाउँदै उहाँहरुको मागलाई सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद लालबहादुर थापाले मुलुक सङ्घीयतामा गए पनि त्यसअनुसारका बजेट विनियोजन तथा विकासका कार्यक्रम हुन नसकेको बताउनुभयो । सांसद वसन्तकुमार नेम्वाङले राष्ट्रिय प्राथमिकताका पूर्वाधार निर्माण आयोजनाको छनोट गरी शीघ्र कार्यान्वयनको कार्यक्रम बनाउन सुझाव दिनुभयो । सांसद विरोध खतिवडाले विभिन्न समयमा विभिन्न भन्सारमा बरामद गरिएको सामानको व्यवस्थापन कसरी भइरहेको छ भनी प्रश्न गर्दै बरामद गरिएका सामानको ‘लखनौँ लुट’ नहोस् भन्नुभयो ।

 

सांसद शान्ता चौधरीले ८ मार्चलाई श्रमिक महिला दिवसका रुपमा घोषणा गर्न माग गर्नुभयो । सांसद बोधकुमारी यादवले सिरहामा एक महीनामा सात बालक अपहरण भएकामा दुई जनाको विहारमा लगेर हत्या भएको जानकारी गराउँदै अपराधीलाई पक्राउ गरी कारवाहीको माग गर्नुभयो । सांसद सत्य पहाडीले सबै स्थानीय तहमा बैंकमा स्थापना गरियोस् भनी माग गर्नुभयो । सांसद सरिताकुमारी गिरीले सप्तरीमा हात्तीको आक्रमणमा परेर मृत्यु हुने घटना बढेकाले सप्तरी कोशी टप्पुलाई व्यवस्था गर्न र हात्ती नियन्त्रणका लागि उचित कार्यक्रम अघि बढाउने काम होस् भन्नुभयो ।

सांसद सुजाता परियारले राष्ट्रिय महिला आयोगमा अध्यक्षसहितका पदाधिकारीको यथाशक्य नियुक्ति गर्न माग गर्नुभयो । सांसद हीराकुमारी गुरुङले बेलायत र नेपाल सरकारबीच भएको सहमति विपरीत भर्ती भएका महिलालाई फिर्ता बोलाउने संसदीय समितिको निर्णय दुःखद् घटना हो भन्नुभयो । सांसद ज्ञानकुमारी छन्तेलले स्थानीय साझेदारी पूर्वाधार कार्यक्रममा राजनीतिक हस्तक्षेप रोक्न आवश्यक रहेको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot