Logo

छोरीको शिक्षा र स्वास्थ्यमा इन्द्रमायाको चिन्ता



कृष्ण न्यौपाने–दमौली, १६ वैशाख । छोरी बेला–बेलामा बिरामी पर्छिन् । छोरीको औषधि उपचारका लागि मलाई धौ–धौ परिरहेको छ । मलाई अरु केही चाहिएको छैन, छोरीको स्वास्थ्य र शिक्षाकै चिन्ता छ ।

तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया तामाङ कुसुण्डालाई आफ्नी ११ वर्षीया छोरीलाई कसरी राम्रो स्वास्थ्य र शिक्षा दिने भन्ने चिन्ता छ । लोपोन्मुख र तनहुँकै एक मात्र कुसुण्डा जातिका स्व राजामामा कुसुण्डाका श्रीमती इन्द्रमायालाई छोरी सीमान्तको स्वास्थ्य उपचार र शिक्षाका लागि समस्या परेको हो ।

सामाजिक सुरक्षा भत्ता बापत सरकारले प्रतिव्यक्ति रु एक हजार दिने गरेको छ । इन्द्रमायाले आफ्नो र छोरीको मासिक दुई हजार भत्ता पाउनुहुन्छ । उक्त भत्ताले घर खर्चसमेत चलाउन धौ–धौ परेको उहाँले बताउनुभयो ।

केही समयअघि सोही वडास्थित सतिश बोर्डिङ स्कुलमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आउनुभएको उहाँसँग अहिले रोजगारी छैन । विद्यालयले घरमा काम गर्न आग्रह गरेपछि उहाँले दुवै तिर काम गर्न नसक्ने जानकारी दिएपछि अरुलाई नै रोजगारी दिइएको छ ।

उहाँले भन्नुभयो, “ रोजगारी नभएपछि घरखर्च चलाउन समस्या परिरहेको छ ।” सीमान्त बोर्डिङ स्कुलमा चार कक्षामा अध्ययन गर्छिन् । छोरीको मासिक शुल्क रु एक हजार ४०० छ । पहिले इन्द्रमाया सोही बोर्डिङमै कार्यरत रहेकाले छोरीको मासिक शुल्क तिर्न पुगेको थियो । उहाँले भन्नुभयो, “ रोजगारी नभएपछि कसरी शुल्क तिर्ने रु ” कुसुण्डा भाषा बोल्न जान्ने राजामामाको गत वर्ष वैशाख ५ गते निधन भएको थियो ।

राजामामाको निधनपछि कुसुण्डा भाषासमेत लोप हुने चिन्ता बढेको इन्द्रमायाले बताउनुभयो । ‘मलाई पनि कुसुण्डा भाषा खासै आउँदैन । राजामामासँग विवाह गरेपछि अलि–अलि मात्रै बोल्न जानेको छु । तर कोसँग बोल्ने, यो भाषा बोल्ने मान्छे अरु छैनन् ।’ आफूलाई राजामामाले नै अलिअलि बोल्न सिकाएको उहाँले बताउनुभयो । सीमान्तलाई भने यो भाषा बोल्न आउँदैन ।

सोही वडाका अध्यक्ष तुलसीराम सापकोटाले सीमान्तको पढाइको जिम्मेवारी वडा कार्यालयले लिने प्रतिबद्धता जनाउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेटमै वडाबाट सीमान्तको शिक्षाको लागि बजेट छुट्याउने तयारी गरिएको जानकारी दिनुभयो । साथै इन्द्रमायाको रोजगारीको लागि आफूले नगर प्रमुखसँग छलफल गर्ने उहाँले बताउनुभयो ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरीद गरी तीन कोठे घर निर्माण गरिदिएको छ । प्रतिष्ठानले नै विसं २०६१ पुस ७ गते राजामामाको विवाह इन्द्रमाया तामाङसँग गराइदिएको थियो । सीमान्तको सहयोगका लागि अभियानसाहित्यकार एवं साभ नेपाल संस्थाका अध्यक्ष तुलसी प्रवासले सीमान्तको सहयोगका लागि अभियान शुरु गर्नुभएको छ । नेपालका विभिन्न जातजातिको अनुसन्धानमा लाग्नुभएका उहाँले कुसुण्डा बालिकाको सहयोग अभियान शुरु गर्नुभएको हो ।

कुसुण्डा परिवारको आर्थिक अवस्था ज्यादै दयनीय रहेकोले सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । व्यास नगरपालिकामा बसोबास गर्ने ३९ प्रकारका जातजातिको सामाजिक, सांस्कृतिक पक्षको अनुसन्धानका सिलसिलामा उहाँले कुसुण्डा परिवारलाई भेट्नुभएको थियो । सीमान्तको शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नका लागि आफूले अभियान शुरु गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अभियान सञ्चालन गरे लगत्तै देश तथा विदेशबाट केहीले सहयोग गरिसकेका छन् भने केहीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

अमेरिकामा रहेका आफ्ना साथीले सीमान्तलाई कक्षा १२ सम्म अध्ययन गराउने प्रतिबद्धता जनाइसकेको प्रवासले जानकारी दिनुभयो । अभियानबाट सङ्कलित रकमले कोष बनाइनेछ । उक्त कोषबाट प्राप्त रकमले सीमान्तको शिक्षा र स्वास्थ्य उपचारमा खर्च गरिनेछ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot