Logo

विराटनगरका व्यापारीसँग नेपाल र भारतको परिचयपत्र !



काठमाडौं २ जेठ । विराटनगरमा व्यापार गर्दै आएका एक व्यवसायीको साथमा नेपाली र भारतीय गरी दोहोरो परिचयपत्र भेटिएपछि उनलाई पक्राउ गरिएको छ । उनको साथबाट दुबै परिचयपत्र बरामद पनि गरियो । दुबै परिचयपत्रमा उल्लेख भएको ठेगानाको आधारमा उनको साथमा दोहोरो नागरिकता समेत रहेको बुझिने प्रहरीले बताएको छ ।

विराटनगर महानगरपालिका–१४ मा बस्दैआएका व्यापारी ३६ वर्षीय विमलेशकुमार साहको साथमा नेपाली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र भारतीय आधार कार्ड भेटिएको हो ।

सवारी चेकजाँचको क्रममा भेटिएको लाइसेन्स र भारतमा बनेको आधार कार्ड दुबै प्रहरीले बरामद गरेको छ । विराटनगरमा खाद्यान्न व्यापार गर्दै आएका उनलाई प्रहरीले मंगलबार राति ९ बजे विराटनगर–३ खार्जीबाट पक्राउ गरेको हो ।

साह चढेको को २६ प ३१६७ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच र खातलासी गर्ने क्रममा प्रहरीले पर्सभित्र आधारकार्ड पनि भेटेपछि उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

उनका अनुसार साहको साथबाट २०५६ साल जेठ २६ गते यातायात व्यवस्था कार्यालय इटहरी सुनसरीबाट बनाएको ०२–५०४१९९ नम्बरको सवारी चालक अनुमतिपत्र फेला परेको छ ।

२४१६५७५०१५०५ नम्बरको भारतीय आधार कार्ड फेला परे पनि आधार कार्ड कहिले बनाएको हो भन्ने खुलेको छैन । लाइसेन्समा आफ्नो नाम विमलेशकुमार साह तथा बुवाको नाम मोहन साह र ठेगाना विराटनगर–१४ उल्लेख छ ।

भारतीय आधार कार्डमा उनको नाम विमलेश साह मात्रै उल्लेख छ । आधार कार्डमा ठेगाना मनिकपुर बुर्जा चौक वडा नम्बर ८ रहिकपुर सिलामोहन अररिया बिहार भारत छ ।

लाइसेन्स र आधार कार्ड साथमै भेटिएपछि पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा उनले नेपाली नागरिकता पनि बनाएको खुलेपछि प्रहरीले नागरिकता पनि बरामद गरेको छ ।

साहले जिल्ला प्रशासन कार्यालय मोरङबाट २०५५ साल भदौ १९ गते ३७४७३ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

वंशजको आधारमा उनले लिएको नागरिकतामा जिल्ला प्रशासनका तत्कालिन प्रशासकिय अधिकृत गोपालप्रसाद रेग्मीको हस्ताक्षर छ । नेपाली नागरिकता बरामद भएसँगै उनले नेपाल र भारत दुबै देशबाट दोहोरो नागरिकता लिएको खुलेको छ ।

साहले पहिले भारतीय नागरिकता लिएको हो या नेपाली नागरिकता लिएको हो भन्ने बारेमा खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । उनको ससुराली पनि भारतको बिहारमा रहेको खुलेको छ । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot