Logo

राष्ट्रपतिमाथि जंगिए पशुपति शमशेर : मेरो जिजुकाकाको सम्पत्तिले पुगेन ?



राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपति निवास आफ्ना जिजुकाका कृष्ण शमशेरको सम्पत्ति भएको उल्लेख गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई उक्त क्षेत्र साँघुरो लागेको भन्दै जंगिएका छन् । राणाकालमा जन्मनेवित्तिकै जर्नेल उपाधि पाएका राणाले रिपोर्टर्स क्लब नेपालमा कडा स्वरमा भने,‘गणतन्त्रका राष्ट्रपतिलाई मेरो जिजुकाकाको सम्पत्तिले पुगेन ?’

कृष्ण शमशेर पशुपति शमशेर राणाका हजुरबुवा मोहन शमशेर राणाका भाई हुन् । राणा शासनका अन्तिम प्रधानमन्त्री मोहन शमशेरका कारण कृष्ण शमशेर देश छाड्न वाध्य भएका थिए । मोहन शमशेरले नै कृष्ण शमशेरलाई शितलनिवास छाड्न वाध्य पारेका थिए ।

सरकारले राष्ट्रपति निवास साँघुरो भएको भन्दै नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलाई काभ्रेमा सारेर शितलनिवास विस्तारको निर्णय गरिसकेको छ । यो विषय विवादमा परेको थियो । शितलनिवास विस्तारको विषयले गणतन्त्रका राष्ट्रपति राजाभन्दा विलासी बन्दै गएको भनी आलोचना हुँदै आएको छ ।

कृष्ण शमशेर र शितलनिवास

जङ्गबहादुर राणााका भाई धीर शमशेरका छैठौ छोरा हुन् राणा प्रधानमन्त्री चन्द्र शमशेर । चन्द्रका छोराहरु मोहन शमशेर, बबर शमशेर, केशर शमशेर, सिंह शमशेर र कृष्ण शमशेर हुन् । चन्द्रले कान्छा छोरा कृष्ण शमशेर राणाका लागि वि.सं १९८० मा शितलनिवास बनाइदिएका थिए । लोकभक्त लक्ष्मी देवीका तर्फबाट जन्मिएका कृष्ण शमशेरलाई चन्द्र शमशेर अति माया गर्थे । तर, चन्द्र शमशेर राणाको निधनपछि उनलाई सौतेनी आमातर्फका दाजुहरुले हेप्न थाले । उनी कमजोर भए ।

राणाहरुबीचको राजनीतिक खिचातानीका कारण कृष्ण शमशेर पनि समस्यामा परे । उनीमाथि आफ्नै दाजुहरुले षड्यन्त्र गरे । परिवारभित्रको द्वन्द्वका कारण कारण वि.सं. २००५ मा कृष्ण शमशेर शितलनिवास छाड्नुपर्ने अवस्थामा पुगे । भव्य भवन सरकारलाई हस्तान्तरण गरे ।

निवास सरकारलाई दिएको तीन वर्षपछि कृष्ण शमशेर भारततर्फ लागे । राणा शासनको अन्तपछि शितलनिवासलाई सरकारी अतिथि निवासका रुपमा प्रयोगमा ल्याइयो । बेलायत र भारतीय राजदूतावास सँगै रहेको उक्त स्थानमा विदेशी पाहुनाहरुलाई राखिन्थ्यो ।

विभिन्न देशका राजदूतावास नजिकै रहेकाले शितल निवासमा परराष्ट्र मन्त्रालय राखियो । मन्त्रालय सिंहदरबारमा सारेपछि सरकारले मन्त्रिपरिषद्बाट निर्णय गराएर २०६५ सालमा राष्ट्रपति निवास बनाइयो । गणतन्त्र स्थापनापछि राष्ट्रपति निवासका लागि शितलनिवासलाई उपयुक्त मानेर राखिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot