Logo

ओली–प्रचण्ड मन्थनपछि यसरी भएछ सहमति



काठमाडौं, १२ असार । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले बुधबार बालुवाटारमा बसेर गहिरो मन्थन गरे । दुई नेताबीच सम्बन्ध बिग्रिएको र एक अर्कालाई असफल बनाउन सक्रिय भएको सन्देश प्रवाह भइरहँदा भएको भेटमा विगतका कमी कमजोरीबारे समेत छलपलल भएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार दुवै नेताले आफूहरुबाट भएका कमी कमजोरीको आत्मालोचना गरेका छन् । दुवैले गल्ती स्वीकार्दै आगामी दिनमा मिलेर जाने सहमति गरेका छन् ।

पछिल्लो समय ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने सहमतिको विषयले राजनीतिक तापक्रम बढेको छ । सहमतिबारे नेकपाका नेताहरुले भिन्न भिन्न प्रतिक्रिया दिइरहेका छन् । यसले नेकपाभित्र अन्यौल र असहमतिको खाडल बढेर गएको छ । दुवै नेताले यस्तो अवस्था आउन नदिन तत्काल कदम चाल्ने सहमति समेत गरेका छन् ।

नेकपा एकीकरणका बखत भएका सहमति कार्यान्वयनमा ओली र प्रचण्ड सक्रिय हुने भएका छन् । प्रचण्डले पार्टीको नियमित बैठक नबस्दा समस्या आएको विषय उठाएको बुझिएको छ । जवाफमा ओलीले बैठकहरु नियमित गर्ने बताएका थिए ।

सहमति अनुसार मन्त्रिमण्डल पुर्नगठनको विषय समेतमा छलफल भएको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार दुवै नेता छिट्टै मन्त्रिमण्डल पुर्नगठनमा सहमत भएका छन् । असार सकिएर नयाँ आर्थिक वर्ष शुरु भएलगत्तै मन्त्रिमण्डलमा हेरफेर हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot