Logo

काम–वासनाले बनायो जन्म दिने आमाको हत्यारा



प्रक्षेपण गौतम: जब प्रेमको सीमा नाघेर मान्छे काम–वासनामा डुब्छ तब अकल्पनीय अपराध गर्न तम्सिन्छ । यस्तै भयो परपुरुषसँग यौन सम्बन्धमा चुर्लुम्म डुबेकी २७ वर्षीया ईश्वरी भट्टराईको जीवनमा । प्रेमको राप र तापलाई नाघेर काम–वासनामा डुब्दा विवेक गुमाउन पुगिन् । जन्म दिने आमाको हत्या गर्न लगाइन् ।

ईश्वरीको जीवन राम्रो चलिरहेको थियो । पति र छोरासँगै सानो परिवार । दुवैजना कामकाजी । छोरा विद्यालय जान्थे । ईश्वरीको जीवन सामान्य गतिमा बढिरहेको थियो । तर, जीवन सधै सिधा गतिमा बग्दोरहेनछ । उनको जीवनमा आँधीको रुप लिएर आए–मोहम्मद नौसाद । २३ वर्षीय युवक नौसादसँगको भेटले ईश्वरीलाई नजिक बनाउँदै लग्यो । पतिलाई छलेर नौसादसँग रमाउन थालिन् ।

शुरुमा यौन प्यास मेट्ने साधनका रुपमा नौसादलाई प्रयोग गरिन् । वासनामा डुब्न थालिन् । आफूभन्दा चार वर्षले कान्छा युवकसँग उनका यौन सम्बन्धले निरन्तरता पायो । वासनाले एक अर्काप्रति आशक्त बनायो । नौसादलाई छाड्नै नसक्ने अवस्थामा पुगिन् । उनीहरुबीचको सम्बन्धले सबै सीमा नाघिसकेको थियो । फुर्सद भयो कि भेट्न थाले । शरीरको वेग निभाउन थाले ।

आमा बनिन् तगारो

आमा सावित्री छोरीको चाँगुनारायणस्थित घरमा बस्थिन् । छोरीको असामान्य गतिविधिबाट आमा सावित्री भट्टराई गम्भीर बनिन् । छोरीले बाटो बिराएकी त छैन भनी बुझ्न थालिन् । नौसादसँगको निकटता चाल पाइन् । पति घरमा नभएको मौकामा नौसाद आउँथे । आमा भएकै समयमा सम्बन्ध राख्थे । ईश्वरीका पति होटलको जागिरे भएकाले प्रायः रातमा घर आउँदैनथिए । त्यही मौका छोप्थे दुवैले ।

छोरीको चालचलनप्रति गम्भीर बनेकी सावित्राले एकदिन मुखै फोरेर गाली गरिन् । घर नबिगार्न भनिन् । नौसादसँगको सम्बन्ध नतोडे ज्वाईं समिरलाई भनिदिन्छु भनिन् । छोरीले नौसादसँगको सम्बन्ध तोड्ने आशामा भनेकी थिइन् ।

ईश्वरी पति सोनाम थापा मगरसँग टाढिदै गएकी थिइन् । सोनाम निकै मिहेनती थिए । कामकाजमा व्यस्त रहँदा घरपरिवारलाई पर्याप्त समय दिन सक्दैनथिए । प्रायः रातमा आउँदैनथिए । त्यसको दुरुपयोग गर्न थालिन् ईश्वरीले ।

छोरीको गृहस्थी जोगाउन हरसम्भव प्रयास गरिन् । नौसादलाई सावित्रीले सम्झाइ बुझाई गरी छोरीबाट टाढिन भनिन् । तर, ईश्वरीले त्यो मनपराएकी थिइनन् । मार्गमा अवरोध बनेको ठानिन् । सावित्रीले नौसादलाई छोरीसँग छुटाउन विदेश जान पैसा पनि दिइन् । ६१ वर्षको उमेरमा आफूले जोहो गरेको रकम खन्याइन् ।

पतिले कान्छी श्रीमती ल्याएपछि बुढेसकालको सहारा ठानेर छोरीको घरमा आएकी थिइन् । तर, त्यही छोरी निर्दयी बनिन् । नौं महिना गर्भमा राखेर हुर्काएको बढाएको बिर्सेर हत्या गर्न लगाइन् ।

हत्याको योजना

नौसाद वैदेशिक रोजगारीका लागि युएई गए । तर, विदेशमा बस्दा पनि दुवैले एक अर्कालाई बिर्सन सकेनन् । वासनामा डुबेका दुवैले भौतिक शरीर टाढिदा पनि होश गुमाइरहे ।

जेठको दोस्रो हप्ता युएई पुगेका उनले त्यहाँ रहँदा काममा भन्दा ईश्वरीसँग सामाजिक सञ्जालमार्फत् कुराकानीमा समय बढी बिताए । दुवै एक अर्कालाई छाड्न नसक्ने अवस्थामा पुगे । सम्बन्ध टुटाउने आमालाई सिध्याउने निर्णयमा पुगिन् ईश्वरी । सबै योजना नौसादले बनाए ।

१० असारमा युएईबाट काठमाडौं आए । त्यसअघि नै हत्याको सम्पूर्ण योजना बनाइसकेका थिए । हत्याका लागि भारतबाट मोहम्मद रहिशलाई काठमाडौं बोलाए । महानगरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार अनुसन्धानबाट पेशेवर हत्यारालाई १२ लाखको सुपारी दिने सहमति भएको थियो । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

भक्तपुर चाँगुनारायण नगरपालिका ७ स्थित बाँसबारीमा छोरीको घरमा धारिलो हतियार प्रहार गरी सावित्री भट्टराइृको हत्या भएको थियो । भारत मधुवनीका २४ वर्षीय मोहम्मद रहिश र अर्जुनकुमार भन्ने भोला कुमार बाँसबारीस्थित घरमै पुगेर हत्या गरेका थिए । सावित्री घरमा भएको सूचना छोरी ईश्वरीले आफै दिएकी थिइन् ।

नौसाद सिराहाको कल्याणपुर घर भई पुरानो ठिमीमा डेरा गरी बस्थे । अर्जुनकुमार पूर्वी दिल्लीका हुन् भने मोहम्मद रहिश मधुवनीका हुन् । सिन्धुपाल्चोक बाँडेगाउ्रँ माइती भएकी ईश्वरीका पति सोनामले चाँगुनारायणमा घर बनाएका थिए । जहाँ उनीहरु बस्दै आएका थिए । त्यही घरमा ईश्वरीले जन्म दिने आमालाई मार्न लगाइन् ।

हत्यापछि प्रहरीले गहिरो अनुसन्धान गर्यो । सबै कोणबाट केलाउन थाल्यो । हत्याका लागि ‘सुपारी’ दिएको १२ लाख रुपैयाँमा नौसादको अर्जुनकुमार र रहिशसँग विवाद चल्न थालिसकेको थियो । पैसा नपाए नौसादको घरपरिवारलाई नोक्शान पुर्याउने भनेपछि पैसा दिन्छु भनी भेट्न डाके । प्रहरीका अनुसार नौसाद धादिङबाट हेटौंडा जाँदाजाँदै पक्राउ परे । उनलाई भेट्न आएका अर्जुनकुमार र रहिश हेटौंडामा पक्राउ परे ।

विवाहोत्तर यौन सम्बन्धमा चुर्लुम्म डुबेर ईश्वरीले आफ्नै आमाको हत्या गर्न लगाइन् । त्यो पनि १२ लाख तिरेर । जीवनको महत्वपूर्ण उमेरमा उनले जुन अपराध गरिन् त्यसको सजाय अदालतले गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्