Logo

बाढीको वितण्डाले शुक्रबार रातिसम्म लियो १९ जनाको ज्यान



असार २७, काठमाण्डौ । तीन दिन देखि जारी वर्षापछि बाढी र पहिरोका कारण देशभर १९ जनाको मृत्यु भएको भने ८ जना बेपत्ता भएका छन् ।

हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर, झापा र पर्सामा गरी १९ जनाले जनाले ज्यान गुमाएका हुन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३–३ जनाले ज्यान गुमाएका छन् । विपदमा परेर ७ जना घाइते छन् भने ४ जनाको उद्दार गरिएको छ ।

अहिलेसम्म खोटाङमा ३, काठमाडौंमा ३, काभ्रेमा २, भोजपुरमा २ तथा ललितपुर, पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली र धादिङमा १–१ जना गरी ६ जनासहित १६ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौंको मुलपानीमा छिमेकी घरको पर्खाल भत्किँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ ।

पर्खालमा पुरिएर मृत्यु हुनेमा कुन्दन यादव, सर्मिला यादव र निलु यादवको मृत्यु भएको महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ । यस्तै, खोटाङको खोटेहाङ गाउँपालिका– बाप्लुखामा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ । पहिरोले बगाउँदा बाप्लुखाका ३१ वर्षीया विष्णु राईकी श्रीमतीसहित एक छोरा र एक छोरीको मृत्यु भएको हो ।

घरसँगै पहिरोमा पुरिएका विष्णुको स्थानीयले उद्दार गरेपनि उनकी श्रीमती, १ छोरा र १ छोरीको भने ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बाढी र पहिरोमा परि अहिलेसम्म १३ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सिरहामा २, सर्लाहीमा १, रौतहटमा ५, खोटाङमा १, काभ्रेमा २ र ललितपुरमा १ गरी १३ जना घाइते भएका छन् ।

रौतहटको बृन्दावन नगरपालिका–१ बलरीखोरमा बागमती नदीमा आएको बाढीमा १५ जना फेसका र उनीहरुको उद्दार कार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौंको कलंकीस्थित ढुङ्गे अड्डाको होचो भागमा ३ जना फसेका र उनीहरुको पनि उद्दार जारी रहेको गृह मन्त्रालयले जनाएको छ । बल्खु खोलाको पानी बस्तीमा बसेको छ ।

पानीका कारण कलंकीमा रहेको मालपोत, प्रहरी र ट्राफिक प्रहरीको कार्यालय समेत डुवानमा परेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्