Logo

२० लाख पर्यटक नेपाल भित्र्याउन हामी प्रतिबद्ध छौं : शेष घले



ईटाली (रोम), १८ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ औं युरोपेली क्षेत्रीय बैठक इटालीको राजधानी रोममा आजदेखि सुरु भएको छ । नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाको विशिष्ट आतिथ्यतमा उक्त बैठक सुरु भएको हो । बैठकमा विश्वभरका एनआरएन नेताहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष शेष घलेले भिजिट नेपाल २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने राष्ट्रको ऐतिहाँसिक लक्ष्य पूरा गर्न विदेशमा रहेका आफूहरु ऐक्यबद्ध र प्रतिबद्ध रहेको विश्वास दिलाए । उनले भने,‘यो राष्ट्रिय पहलकदमीमा हामी व्यक्तिगत र सामूहिक रुपमा साथ दिन्छौं ।’

रोमको इर्गिफ होटलमा उक्त बैठक सुरु भएको हो । ‘एनआरएनए यूरोपको उद्देश्य देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य’ भन्ने मुल नाराका साथ आयोजित बैठकको मुख्य एजेण्डा लगानी र पर्यटन प्रवर्द्धन रहेको छ । यसैगरी नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको सन्देश प्रवाह गर्नुका साथै सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्नेपनि उद्देश्य रहेको छ ।

यसैगरी बैठकमा गैरआवासीय नेपाली नागरिकताको विषयमा रहेका द्विविधा सम्बन्धी विशेष सेसन, नेपालमा लगानीका लागि नेपालको मौजुदा नियम र कानूनबारे जानकारी, युरोप क्षेत्रका लागि छुट्टै वैदेशिक रोजगार राहत कोषको अवधारणा लगायत एजेन्डामा समेत छलफल केन्द्रित रहनेछ ।

यसका साथै बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नुपरेको समस्या र त्यसको समाधान, यहाँ रहेका नेपालीका ज्ञान सीप र क्षमता नेपालमा भित्र्याउने सरकारको रणनीति र त्यसमा एनआरएनएको भूमिकाबारे पनि घनीभूत रुपमा छलफल गरिनेछ ।

यसअघि बुधबार इटालीको रोममा भिजिट नेपाल २०२० को औपचारिक उद्घाटन गरिएको थियो । तस्विर : कुमार पन्तको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot