Logo

बौद्धको तिलौरी र टुडाँल कस्ले चोर्यो ?



रिपोर्टस नेपालः विश्व सम्पदामा सूचीकृत बौद्ध स्तुपको २०७४ सालमा गरुडको टुडाँल हरायो । यसको कुनै खोजीकार्य हुन सकेन । त्यसपछि अहिले नक्कली टुडाँल हालिएको छ । गत वैशाख महिनामा फेरी बौद्धको अजिमा थानमा रहेको तिलौरी हराएको छ । यसको पनि अहिले सम्म कसरी र कस्ले लग्यो भन्ने तथ्य खुल्न सकेको छैन । बौद्धमा रहेको अजिमा थानको जिर्णौद्धारको कार्य २०५० साल फागुन ३ गते निर्माण कार्य सम्पन्न भएको सोही ठाउँमा उल्लेख छ ।

बौद्धनाथ क्षेत्र विकास समितिका अनुसार उक्त अजिमा थान बौद्ध मेलम्ची घ्याङ गुठीको मातहतमा सञ्चालन छ । उक्त ठाउँमा धेरै पुजाहरु हुने गर्दछ । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चद्रमान लामाले मेलम्ची घ्याङ गुठीले संरक्षण गर्न नसक्दा पुरातात्विक र बहुमुल्य वस्तुहरु हराउदै गएको बताउँछन । ‘घ्याङ गुठीले अधिकार जमाएकोले हामीले केही गरेका छैनौँ । सबै अधिकार उनीहरुमा छ,’ उनले भने,‘गुठीले संरक्षण नगर्दा पाचँ महिना अघि बहुमुल्य तिलौरी हराएको छ । तीन वर्ष पहिले टुडाँल पनि हराएको थियो । यस्ता पुरातात्विक र बहुमुल्य सामानहरु हराउनु दुखद कुरा हो । गुठीले संरक्षण गर्न सकेको छैन ।’ उनका अनुसार बौद्ध धर्मलम्बीहरुले तिलौरीलाई कुल भगवानको रुपमा पुज्ने र चढाउँने गर्छन । तर, अहिले चढाउने तिलौरी नै छैन ।

घ्याङ गुठीले समितिलाई जिम्मेवारी दिएमा बौद्धमा रहेको सबै ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्ने लामाले बताए । ‘घ्याङ गुठीले व्यवस्थित ढंगले बौद्धका ऐतिहासिक सम्पदाहरुको संरक्षण गरेको छैन,’ उनले भने,‘अजिमा थानको जिम्मेवारी हामीलाई दिएमा उचित व्यवस्थापन गर्ने थियौँ । संरक्षण गर्ने निकायले यसरी चासो लिएन भने अरु बहुमुल्य सामाग्रीहरु पनि हराउँछन भन्ने चिन्ता हामीलाई लागेको छ । यसलाई हामी गम्भिर रुपमा लिएका छौँ ।’ उनका अनुसार बौद्ध स्तुपमा आन्तरिक तथा बाह्य पयर्टक घुम्न आउँछन । यसरी ऐतिहासिक सम्पदाको मुर्ती, तिलौरी जस्ता पुरातात्विक वस्तुहरु हराउनु राम्रो हुदैँ होईन ।

बौद्ध स्तुप काठमाडौं महानगरपालिका वडा ६ अन्तर्गत पदर्छ । काठमाडौं महानगरपालिका वडा ६ का वडा अध्यक्ष दिपेन्द्र लामाले तिलौरीको खोजीकार्य जारी राखेको बताउँछन । उनका अनुसार बौद्ध स्तुपको सुन पनि हराएको थियो । तर, खोजीकार्य गरी चोरी गर्ने व्यक्ति पत्ता लगाईएको छ । ‘हराएको अजिमा, तिलौरीको खोजी कार्य गर्दे आएका छौँ,’ उनले भने,‘सिसी टिभी भएपनि पुरै कभर गर्न नसकेकाले होला फुटेजमा देखिएको छैन । सुन पनि हराएको थियो । हामीले पत्ता लगाएरपनि सुन पाईसकेका छौँ । अहिले नै चोर्ने व्यक्तिको नाम सार्वजनिक गर्न मिल्दैन । सार्वजनिक गरी उनीहरुलाई कारबाही गरिने छ ।’

ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्दे आएको मेलम्ची घ्याङ गुठीका लामा साङगे दोर्जेको भनाई छ । ‘हामीले संरक्षणमा जुटिरहेका छौँ । सेकुरिटी र्फोस परिचालन गरेका छौँ,’उनले भने,‘तिलौरी भने कसरी चोरी भयो पत्तै भएन । चोरले चोर्ने सोच बनाएपछि जसरी नि चोर्दा रहेछन ।’
पटक पटक आगलागी
बौद्ध स्तुपमा पटक पटक आगलागी हुने गरेको छ । गत विहिबार पनि बौद्धस्तुप भित्रको छयोईमे घर(बत्ती बाल्ने घर) मा आगोलागी भएको थियो । अहिले उक्त घर बौद्ध तामाङ कल्याण गुठीद्धारा सञ्चालित छ । आगलागीबाट केही भौतिक समानहरु नष्ट भएका छन । आगोलागी भएपछि उक्त घरको जस्ता र स्तुपको वाल कालो भएको छ । बौद्धका स्थानीय च्याङबा तामाङका अनुसार प्रहरी र स्थानीयको सहयोगबाट आधा घण्टापछि आगोलाई नियान्त्रणमा लिइएकोे थियो । ‘आगोलागी भएपनि केही मानवीय क्षति भएन,’ उनले भने,‘विश्व सम्पदामा सुचिकृत सम्पदामाथि यसरी आगो लाग्नु राम्रो होईन । पहिले यहाँको गुम्बामा पनि आगो लागेको थियो ।’

काठमाडौं महानगरपालिका वडा ६ का वडा अध्यक्ष दिपेन्द्र लामाले व्यवस्थित ढंगले सञ्चालन गर्न सचेतना गराएको बताए । ‘छयोईमे घरमा अहिले मात्र नभई पहिले पनि पटक पटक आगोलागी भएको छ,’उनले भने,‘विश्व सम्पदामा यसरी पटक पटक आगो लाग्नु राम्रो हुदैन । तिर्थालु आउने गरेकाले बत्ति बाल्ने ठाउँ चाँहिन्छ । यसलाई व्यवस्थित गर्न जानकारी दिएको छु ।’ उक्त घर सार्नलाई ठाउँ नभएकाले यसको अन्य विकल्प खोज्दै आएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot