Logo

के भइरहेको छ प्रधानमन्त्रीको उपचार ?



काठमाडौं १२ भदौ ।  शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडी निष्काशन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई लम्बिएको छ।

शरीरमा बढेको मिर्गौलासम्बन्धी एन्टिबडी नष्ट गर्न यो स्वास्थ्योपचार सुरु गरिएको हो। सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य छ।

प्रधानमन्त्री ओलीको उपचारअवधि लम्बिएपछि निजी चिकित्सक डा. दिव्यासिंह शाह स्वदेश फर्किएकी छन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जानकारी गराउँदै मुख्य सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै भनेका छन, ‘प्रधानमन्त्रीज्यूको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी छ।’ ओलीका निजी चिकित्सक प्रा.डा दिव्यासिंह शाहका अनुसार यो उपचार प्रक्रिया अर्कोसाता सम्ममा पुरा हुनेछ। ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा छ’ उनले भनिन्।

प्रधानमन्त्रीलाई तीन पटक प्लाज्मा फेरेसिस गरिएको छ। एक दिन बिराएर प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस गरिएको हो। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ समेत रहेकी डा. शाह स्वदेश फर्केपछि अर्का निजी चिकित्सक डा.दिलिप शर्मा सोमबार सिंगापुर गएका थिए। प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री भदौ ५ मा उपचारका लागि सिंगापुर गएका थिए। यसअघि साउन १८ देखि २७ गतेसम्म प्रधानमन्त्रीले सोही अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए।

के हो प्लाज्मा फेरेसिस ?

रगतमा रातो रक्तकोष (आरबीसी), सेतो रक्तकोष (डब्ल्यूबीसी), प्लेटलेस र प्लाज्मा हुन्छ। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ राजेन्द्रकुमार अग्रवालका अनुसार रगतमा ६० प्रतिशत हिस्सा प्लाज्माको हुन्छ।

रगतमा रहेको पहेँलो तरल पदार्थ प्लाज्माले नै शरीरका अरु भागमा रगतलाई प्रबाह गराउँछ। रगतमा रहेको दुषित पदार्थ प्लाज्मामा जम्मा हुने भएकाले दुषित पदार्थ छुट्याएर त्यसलाई रिप्लेस गर्ने (फेर्ने) विधिलाई नै प्लाज्मा फेरेसिस भनिन्छ।

‘प्लाज्माबाट एन्टिबडी हटाएर प्लाज्माको ठाउँमा प्लाज्मा वा ह्युमन हल्बुमिन (human albumin) ले रिप्लेस गर्नुपर्ने हुन्छ’, डा. अग्रवालले भने, ‘कम्तिमा तीनदेखि चारपटक यो गर्नुपर्ने हुन्छ।’

प्रधानमन्त्री ओलीलाई गरिएको भनिएको प्लाज्मा फेरेसिस अन्तर्गत सुरुमा शरीरबाट रगत निकालेर यसमा रहेको प्लाज्मा छुट्याइन्छ। दुषित प्लाज्मा हटाएर स्वास्थ्य प्लाज्मा राखिन्छ र त्यसपछि उक्त रगत पुनः शरीरमा चढाइन्छ। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्