Logo

नारीका लागि विशेष तीज



काठमाडौं । हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन । खास गरी यसमा स्त्रीहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वती सँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरु विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्ने गदैछन । बेलुकी पख घर गाउँ र छिमेकका महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । निर्जला ब्रत भनिएपनि आजभोली महिलाहरु मध्यान्हमै पुजा आराधना पश्चात फलफूल ग्रहण गर्ने गर्दछन । कतिपय महिलाहरु नजीक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाच गान तथा रमाईलो गर्ने गर्दछन् । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला ब्रतालुहरुको ठूलो भीड हुने गर्दछ ।

आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्