Logo

कपिलवस्तु घटनाका पीडित भन्छन् न्याय खोज्न कहाँ जाने



कपिलवस्तु, ३१ भदौ । नेपालको इतिहासमै कलङ्कका रुपमा रहेको कपिलवस्तु घटनाको १२ वर्ष बितेको छ । विसं २०६४ भदौ ३० गते कपिलवस्तुको कुदरबेटवाका तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता अब्दुल मोइद खाँको अज्ञात समूहले हत्या गरेपछि भड्केको हिंसाका कारण १४ सर्वसाधारणको ज्यान गएको थियो । सर्वसाधारणले ज्यान मात्र गुमाएनन्, ५० करोड बराबरको धनमाल लुटपाट तथा आगजनी भएको थियो ।

हत्यापछि भड्किएको हिंसाका कारण चन्द्रौटा, कृष्णनगर, गणेशपुर, बिसनपुर, चनईलगायतका स्थानमा हत्या, बलात्कार, आगजनी हुँदा ठूलो धनजनको क्षति भएको थियो । करीब १६० सवारी साधनमा आगजनी भएको थियो भने १० हजारभन्दा बढी नागरिक विस्थापित भएका थिए । घटनापछिका हरेक वर्ष भदौ ३० गतेलाई स्थानीयवासीले कहिले कालो दिन त कहिले स्मरण दिनका रुपमा मनाउने गर्दछन् । यसपालि सोही दिनको स्मरण गरिएको छ ।

उक्त घटनाको स्मरण गर्दै सोमबार आयोजित कार्यक्रममा कपिलवस्तु सङ्घर्ष समितिका अध्यक्ष महादेव पोखरेलले भने, “सर्वोच्च अदालतमा दर्जानौँपटक पेसी सरिसकेको छ, हामी न्याय खोज्न कहाँ जाऔँ अब ” उनले अहिलेको सरकारले पीडितलाई न्याय र राहत दिने आशा व्यक्त गरे । सहभागीहरुले विसं २०६४ भदौ ३० गतेजस्तो त्रासदी फेरि कहिल्लै भोग्न नपरोस् भन्ने कामना गरे । कहालीलाग्दो सो घटनाको १२ वर्ष बितिसक्दा पनि पीडितले अझैसम्म पनि राज्यबाट न्याय नपाएको गुनासो गर्दै उचित क्षतिपूर्ति दिनुपर्ने राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णुप्रसाद खतिवडाले बताए ।

बाह्र वर्ष बितिसक्दा पनि आफ्ना माग सुनुवाइ नभएपछि पीडितहरुले मल्लिक आयोगको छानविन प्रतिवेदनअनुसार क्षतिपूर्तिको माग गर्दै सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका छन् । सर्वोच्च अदालतमा आठ वर्षअगाडि रिट दायर गरेको भए पनि रिटको अझैसम्म सुनुवाइ भएको छैन । घटनाको छानविन गर्न तत्कालीन सरकारले पुनरावेदन अदालत राजविराजका तत्कालीन न्यायाधीश लोकेन्द्र मल्लिकको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

छानविन समितिले तीन महीना लगाएर प्रतिवेदन तयार पारेको थियो । छानविनका क्रममा राज्यकोषबाट करीब डेढ करोड खर्च भएको थियो । तर, सो प्रतिवेदन अझै सार्वजनिक हुनसकेको छैन । हिंसात्मक घटना भएको १२ वर्ष बिते पनि चन्द्रौटामा बसाइँसराइ गर्नेको चाप बढेको छ । उक्त हिंसात्मक घटनापछि स्थानीय प्रशासनले पछिल्लो समय चन्द्रौटालाई विशेष सुरक्षा संयन्त्रमा राखेर कार्य थालेसँगै बसाइँसराइ गरेर आउने बढेका हुन् । -रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot