Logo

चाडपर्वको मुखमा गृहमन्त्रीले दिए सुरक्षा निकायलाई कडा निर्देशन



काठमाडौं, ५ असोज । गृहमन्त्री रामबहादुर थापाले दशैँ, तिहार, छठजस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन् । आज गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा थापाले जनताले महसुस गर्नेगरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् ।

उनले चाडपर्वमा खासगरी चोरी, लुटपाट, कालोबजारीजस्ता घटना अत्यधिक हुने भएकाले सोही अनुरूपको सुरक्षा रणनीति बनाउन सुझाव दिए। गृहमन्त्री थापाले सडक सुरक्षा तथा तोकिएको भाडा कार्यान्वयनबारे कडाइपूर्वक अनुगमन गर्नसमेत निर्देशन दिए।

बैठकमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot