गलकोट, १८ असोज : बागलुङको बरेङ गाउँपालिकाले केन्द्रीय तथा स्थानीयस्तरको लघु जलविद्युत्को पहुँचबाट विद्युत्बाट वञ्चित घरमा उज्यालो पुर्याएको छ । भौगोलिक विकटता, गरिबी र विपन्नताका कारण अझै पनि धिपधिपे टुकी बालेर रात काट्नुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकाले विपन्न परिवारलाई सोलार वितरण गरेको छ ।
सामुदायिक जलविद्युत्मा विद्युत् महसुल बढी आउने तथा शुरुमा जडान खर्च धेरै लाग्ने भएका कारण हालसम्म टुकीको भरमा बस्नु परेको वडा नं ३ का बासिन्दा भानबहादुर सार्कीले बताए । गाउँपालिकाका भरका ४१ विपन्न परिवारका लागि ४१ थान सोलार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेको दुर्गम ठाउँमा सामुदायिक विद्युत् भए पनि आर्थिक अभावले विद्युत् सेवाबाट वञ्चित भएका कारण निःशुल्क रुपमा सोलार प्रदान गरिएको अध्यक्ष शर्माले जानकारी दिए । आर्थिक अभावका कारण पाँच वटै वडाका विपन्न परिवार उज्यालोबाट वञ्चित भएको पाइएपछि गाउँपालिकाले विपन्न परिवारलाई सोलार वितरण गर्न रु तीन लाख विनियोजन गरेको थियो ।
सोलार वितरणपछि गाउँपालिकाका गाउँ, टोल र बस्तीमा उज्यालोको सहज पहुँच विस्तार भएको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेलले बताए । “विशेषगरी दलित र विपन्न परिवारले सामुदायिक विद्युत् जडान गर्न सकेका थिएनन्, घर नजीकै भएको बिजुली प्रयोग गर्न नसकेर हेरेर बस्नुपर्ने अवस्थाले हामीलाई गहिरो गरी छोयो”, प्रशासकीय अधिकृत पौडेलले भने ।
विद्युत् महसुलसमेत तिर्न नसकेर अँध्यारोमा बसेका परिवारलाई पूर्ण उज्यालो गाउँ गराउनका लागि वडाभित्रका १० विपन्न परिवारलाई तीन वटा बल्ब बल्ने सोलार वितरण गरिएको वडा नं ३ बाटाकाचौरका वडाध्यक्ष पूर्णबहादुर खनालले जानकारी दिए । गाउँपालिकाले ४१ वटा सोलारमध्येमा वडा नं १ मा १०, वडा नं २ मा ११, वडा नं ३ मा १०, वडा नं ४ मा छ र वडा नं ५ मा चार थान सोलार प्रदान गरेको छ । रासस