Logo

‘गुजारामुखी नभई समृद्धिका लागि कृषि’



महोत्तरी, १८ असोज: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रविधियुक्त कृषि प्रणालीले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन् । बर्दिवास नगरपालिकाअन्तर्गतको कृषि विकास बोर्डले नमूना कृषि गाउँ (मोडल एग्रो भिलेज) मा आयोजना गरेको वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै उहाँले अबको कृषि गुजारामुखी नभई विकास र समृद्धि प्राप्त गर्ने उद्देश्यको हुनुपर्ने बताए ।

“अब केही मन कोदो, केही धान वा केही अन्य बाली उब्जाएर गुजारा गर्ने कुराले दिन चल्दैन”, मन्त्री पोखरेलले भने , “विकास र समृद्धिको यात्रामा अघि बढ्न किसानले अब अत्याधुनिक कृषि प्रविधि अपनाउनुपर्छ ।” स्थानीय, प्रदेश र सङ्घीय सरकारका सारा प्रयत्न अहिले विकास र समृद्धिसँग जोडेर अघि बढाइएको उनको भनाइ रहेको छ ।

उनले प्रत्येक काममा जनसहभागिता बढाउन नगरपालिका नेतृत्वसँग आग्रह गरे । “जनताको सहभागिता नभएका कार्यक्रम जतिसुकै राम्रा भनेर प्रचार गरिए पनि फ्लप हुन्छन्”, मन्त्री पोखरेलले भने , “त्यसैले योजना छनोट गर्दा होस् वा कार्यसञ्चालनमा होस् जनसहभागिता जुटाउन भरमग्दुर प्रयत्न गर्नुहोस् ।”

वडा नं ६ किसाननगरमा पर्ने पश्चिमी रातु नदी उकास जग्गामा नगरपालिकाले कृषि कार्यक्रमअन्तर्गत नमूना कृषि गाउँ निर्माणको काम थालेको छ । सो गाउँमा दुई हजार २०० आँप र लिचीका बिरुवा रोपिएका छन् । आज रोपिएका बिरुवामा रोप्नेको नाउँ लेखेर टाँसिएको छ । जुनसुकै बेला नमूना कृषि गाउँमा आइपुग्दा आफुले रोपेको बिरुवा रोप्ने आफैँले हेरचाह गर्न पाउन् भन्ने उद्देश्यले त्यस्तो गरिएको बर्दिवास कृषि विकास बोर्डका अध्यक्षसमेत रहेका नगरप्रमुख बिदुरकुमार कार्कीले बताए ।



प्रतिक्रिया दिनुहोस्