Logo

पर्यटक आकर्षित गराउन झरनाको सौन्दर्यकरण



म्याग्दी, २३ असोज :  पर्यटकलाई आकर्षित गर्नका लागि महभिर झरनामा सौन्दर्यकरण गरिएको छ ।

समुदाय, स्थानीय तह र विभिन्न निकायको प्रयासमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानस्थित महभिर झरनाको सौन्दर्यकरण गरिएको हो । बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने र आउने पर्यटकहरुलाई आकर्षित गराउन पूर्वाधार निर्माण गरिएको छ ।

झरनाको पूर्वाधार विकासका लागि पछिल्लो दुई वर्षयता रु १५ लाखभन्दा धेरै खर्च भएको छ । महभिर झरना बेनी–जोमसोम सडकको नजीकै छ । तर प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको थियो । झरनाको फेदीमा कृत्रिम पोखरी, घेराबार, पार्क, सूचना बोर्ड, विश्रामस्थल र पदमार्ग निर्माण भएको वडाध्यक्ष गमप्रसाद फगामीले बताए । यस वर्ष कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाले झरनाको फेदीमा तारबार गरेको छ ।

झरना वरिपरी तीन वटा विश्रामस्थल बनाइएको छ । जहाँ सुविधायुक्त तरिकाले बसेर झरनाको दृश्य अवलोकन गर्न सकिन्छ । पर्यटकलाई सुरक्षित रुपमा अवलोकन गर्ने व्यवस्था मिलाउन तारबार गरिएको हो । प्रसारण लाइन आयोजनाको वातावरण तथा सामाजिक विभागले तारबार लगाउन वडा कार्यालयले सिफारिस गरेको छ । महभिर झरनामा पूर्वाधार बनाउन पाँच लाख रुपैयाँ खर्च भएको आयोजनाका प्रमोद न्यौपानेले बताए ।

यसैगरी शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङको रु तीन लाख सहयोगमा झरना अवलोकन गर्ने ठाउँमा ढुङ्गा बिछ्याइएको छ । गमलामा फूल रोपिएको छ । सडक छेउमा झरनाको परिचय दिने सूचना बोर्ड राखिएको छ भने प्रवेशद्वारसमेत निर्माण भएको छ ।

गत वर्ष गाउँपालिकाको रु पाँच लाख सहयोगमा झरनाको फेदीमा भिरालो जमीन सम्माएर मैदान र फराकिलो बनाइएको थियो । ८० वटा ग्याबियनको पर्खाल लगाएर झरनाको फेदीमा दुई मिटर गहिरो कृत्रिम पोखरी बनाइएको छ ।

पूर्वाधार सुविधासँगै झरनाको अवलोकन गर्ने पर्यटकको चहलपहल बढेको महभिरका कृष्णकुमार गर्बुजाले बताउनुभयो । यसअघि प्रचारप्रसार र पूर्वाधारको कमीले झरना सुनसान थियो । झरनाको फेदीमा रहेको साढे १६ रोपनी सार्वजनिक जग्गा पहिचान गरिएको छ । सार्वजनिक जग्गाको अतिक्रमण हटाएर पूर्वाधार निर्माण गर्ने वडाध्यक्ष फगामीले बताए ।

पहाडको फेदीमा करीब एक सय मिटर माथिबाट निकै आकर्षक र मनमोहक देखिने बेनीकी प्रतिज्ञा सुवेदीले बताउनुभयो । उक्त झरना नजीकै मन्दिर पनि छ । जहाँ पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाले झरनाको धार्मिक महत्वसमेत छ । रेलिङ, पार्किङ स्थल र प्रतीक्षालय निर्माण गर्ने योजना रहेको वडाध्यक्ष फगामीले बताउनुभयो । यस वर्ष सार्वजनिक शौचालय बनाउन रु दुई लाख विनियोजन भएको छ ।

साहासिक खेल क्यानोइङ सञ्चालन गर्न सम्भाव्यता अध्ययनको तयारी भएको वडाध्यक्ष फगामीले बताउनुभयो । व्यवस्थित बनाएपछि प्रवेश शुल्क लिने र गाउँपालिकाको आयस्रोतका रुपमा समेत परिचालन गर्न सकिने सम्भावना छ ।

देवीस्थान स्वास्थ्य चौकीको भवन निर्माण

मालिका गाउँपालिका–५ देविस्थानमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराको रु एक करोड ६० लाखको लागतमा सुविधासम्पन्न भूकम्प प्रतिरोधी क्षमताको पक्की भवन निर्माण गरेको हो ।

भवनको पूर्वाधार निर्माण गरेर एकाइमार्फत स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको निर्माण कम्पनी भगवती मालिका निर्माण सेवाका सञ्चालक गोपाल भट्टचनले बताए । २०७३ देखि भवन निर्माण शुरु भएको थियो । १९ वटा कोठा भएको भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार, औषधि भण्डारण, श्यया रहने छुट्टा-छुट्टै कक्ष छन् । नयाँ भवनबाट सेवा शुरु गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष पिपला बुढाथोकीले बताए ।

यसअघि स्वास्थ्य चौकी मगरदाङस्थित पुरानो भवनबाट सञ्चालन गरिएको थियो । भवन र पर्याप्त पूर्वाधारको अभावमा सेवा प्रवाहमा समस्या भएको थियो । एकाइले एक वर्षयता मालिका गाउँपालिका–४ च्युरीबोट, अन्नपूर्ण गाउँपालिका–८ राम्चे, ६ घार, रघुगङ्गा गाउँपालिका–३ पिप्ले र मङ्गला गाउँपालिका–३ बरञ्जामा स्वास्थ्य चौकीको भवन निर्माण गरेको छ ।

कुहुँ, हिस्तान, कुइनेमङ्गले, मल्कवाङ र पुलाचौर स्वास्थ्य चौकीको भवन निर्माणाधीन छन् । सदरमुकामस्थित बेनी अस्पतालको ५० श्यया क्षमताको भवन निर्माणाधीन अवस्थामा छ । अस्पताल परिसरमा दुई वटा चिकित्सक र स्वास्थ्यकर्मी आवास भवन निर्माण भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot