Logo

खानेपानी स्रोतका लागि पुनःभरण पोखरी बनाइने



हेटौँडा, २३ असोज : खानेपानीको मुहान तथा स्रोत सुक्ने क्रमलाई रोक्न हेटौँडाको वन तथा खानेपानीका मुहान वरपरका पानीको स्रोतलाई सुक्न नदिने खालको ‘रिचार्ज पोखरी’ निर्माण गरिने भएको छ ।

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले सामुदायिक वन तथा हेटौँडा उपमहानगरपालिकासँग मिलेर त्यस्ता पोखरी निर्माण गर्ने भएको हो । चालू आर्थिक वर्षमा खानेपानीको स्रोत ‘रिचार्ज’ गर्न चुरे क्षेत्रमा ‘रिचार्ज पोखरी’ निर्माण गर्ने योजना बनाइएको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए । पोखरी निर्माणपछि पानीको स्रोत सुक्ने समस्या समाधान हुनुका साथै वन्यजन्तुलाई पानीको व्यवस्था हुनेहुँदा रिचार्ज पोखरी निर्माणले दोहोरी फाइदा पुग्ने अध्यक्ष विष्टको भनाइ थियो ।

यस वर्षमा चारदेखि पाँच वटा पोखरी बोर्डले नै निर्माण गर्ने र नगरपालिका र सामुदायिक वन उपभोक्ता समूहको सहयोग प्राप्त भएपछि थप पोखरी निर्माण गरी पानीको स्रोत संरक्षण गर्न सकिने बोर्डका अध्यक्ष विष्टले बताए ।

हेटौँडा खानेपानी बोर्डले चालू आर्थिक वर्षमा खानेपानीको स्रोत व्यवस्थापन गर्नुका साथै वितरणलाई पनि गुणस्तरीय र प्रभावकारी बनाउने लक्ष्य लिएको उनको भनाइ थियो । खानेपानी वितरण गर्ने प्रमुख पाइपलाइनको सुधार गर्नुका साथै गुणस्तरीय पानी वितरणलाई सुनिश्चित गराउने प्रयास भइरहेको अध्यक्ष विष्टले बताए । बोर्डले दैनिक एक करोड ३५ लाख ९२ हजार लिटर पानी उत्पादन गरी १७ हजार १६१ धाराबाट वितरण गर्दै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot