Logo

काठमाण्डौका सडकमा सी र भण्डारी, रातारात बने सडक (भिडियोसहित)



काठमाण्डौ । जब भयो राति तब बुढी ताती भनेजस्तै प्रवृत्ति छ नेपाल सरकारको । विकास निर्माणका काम देश र जनताका लागि गर्नुपर्ने हो । न कि कसैलाई देखाउन । तर उच्चस्तरीय पाहुनाको स्वागतका लागि काठमाडौंलाई रातारात सजिसजाऊ बनाइएको छ । चिनियाँ राष्ट्रपति सि जिन फिङको स्वागतका लागि सरकारले त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि शहरका विभिन्न ठाउँ देखाउनकै लागि राम्रो बनाउने प्रयास गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । २३ वर्षपछि हुन लागेको राष्ट्रपतिस्तरीय भ्रमणका लागि काठमाडौँमा धुमधामका साथ तयारी गरिँदैछ । राष्ट्रपति सी हिँड्ने बाटो कालोपत्र गरिनुकासाथै सडकका छेउछाउमा बिरुवा रोप्नेदेखि पोष्टर टाँस्ने र रङ लगाउनेसम्मका कामहरु भइरहेका छन् ।

विभिन्न स्थानमा राष्ट्रपति सीको स्वागतका लागि स्वागतद्वारा निर्माण गरिएका छन् भने राष्ट्रपति विद्यादेवि भण्डारी र राष्ट्रपति सीका पोष्टरहरु टाँसिएका छन् । एक दिनकै लागि देखाउनलाई गरिएको यो तामझामले सायदै राष्ट्रपति सी भ्रममा पर्लान ।

तर नेपाली जनता भने भ्रममा छैनन् । सरकारले चाहे छिटै काम सम्पन्न हुने तर जनताको हितका लागि भने वेवास्ता गर्ने प्रवृत्ति नागरिकलाई मन परेको छैन । जनतको कर गुणस्तरहीन काममा प्रयोग गरेर स्वाहा परेको सर्वसाधारणको तर्क छ । कतिपयले त विशिष्ट पाउनलाई देखाउन गरिएको नागकको संज्ञासमेत दिएका छन् ।

त्यसो त नागरिक पनि कहाँ अनुशासित छन् र ? सरकारले देखाउनकै लागि बनाएको भए पनि नागरिकले तोडफोड गर्नु उचित हैन । तर कतिपय ठाउँमा सरकारले बनाएका संरचना तथा सजावट नागरिकस्तरबाटै च्यातिएका छन्, तोडिएका छन् । सिको नेपाल भ्रमण तय भएसँगै स्वागतका लागि काठमाडौंका सडक खाल्डाखुल्डी पुर्नुका साथै सडक किनारा हरियाली बनाउने र सरसफ अभियानलाई तिव्र पारिएको हो । २ हप्ता यता काठमाडौंका सडक खाल्डाखुल्डी पुर्नुका साथै सरसफाई र रंगीचंगी पोष्टर टासि दुलहीजस्तो सिंगारिएको छ । रातारात भत्किएका र धुलोले भरिएका सडक कालोपत्र गरिएको छ ।

रातारात विरुवा रोप्ने, गोडमेल गर्ने तथा सरसफाई गर्ने, सुरक्षा मजबुत बनाउने काम भईरहेको छ । हिजोसम्म खाल्डैखाल्डा रहेको सडक रातारात चिल्ला भएका छन् । सडक पेटीहरु रंगिएका छन् । भत्किएका ठाउँमा पिच गर्ने, जेब्रा क्रसिङ बनाउने, खाल्डा खुल्डी पुर्ने, बोर्डर रङगाउने काम भएको छ । त्रिभुवन विमानस्थलको मूख्य गेटदेखि चिनियाँ राष्ट्रपति सि बस्ने होटल सोल्टीसम्म कालोपत्रमाथि कालोपत्र थपिएको हो ।

यस्तै, माइतिघरदेखि राष्ट्रपति निवाससम्म पुग्ने सडकमा पनि रातारात कालोपत्रे थपिएर सडक चिल्ला पारिएका छन् । अलपत्र अवस्थामा रहेको तिनकुनेको नबनेको पार्कमा रातारात हरियाली बनाइएको छ ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउदा उनी हिँड्ने प्रमुख सडक रातारात कालोपत्रे भएका थिए । सार्कको शिखर सम्मेलनदेखि बिमिस्टेकसम्मेलनका क्रममा समेत राजधानीका सडक रातारात कालेपत्रे हुन पुगे । अरुबेला चाबहिलदेखि गोकर्णसम्मको नबनेको सडक पनि विदेशी पाहुना आउने भएपछि रातारात पिच बनाइए । अरुबेला आमनागरिकले खाल्डाखुल्डीमा जमेको पानी नदेखेर दुर्घटनामा परि ज्यानै गुमाउनु परेको छ ।

धुलोधुवा र जामले वातावरण नै अस्वस्थ्य हुने गरेको कारण सास्ती खेप्नुपरेको छ । नेपाली नागरिकले वर्षैभरी धुलो, धुँवा र खाल्डाखुल्डीमा कष्टकर यात्रा गर्दै आएका छन् । यो काठमाडौंको नियतीजस्तै बनेको छ । तर सरकार भने अति विशिष्ट पाहुनाका लागि मात्रै देखउान विकास निर्माणका काम गर्ने गर्दछ । चिनियाँ राष्ट्रपति सी जिनपिङ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शनिबार नेपाल आउन लागेका हुन् । उनी आइतबारसम्म काठमाडौंमा रहनेछन् ।



प्रतिक्रिया दिनुहोस्