Logo

राजपुर बमकाण्डमा तानिए तत्कालीन सिडिओ र प्रहरीप्रमुख



काठमाडौं, ६ कार्तिक । राजपुर बमकाण्डका बेला रौतहटमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी प्रमुख र सरकारी वकिल कार्यालयका प्रमुख छानबिन दायरामा परेका छन्।

तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारी, सशस्त्र प्रहरीका जिल्ला प्रमुख रामकृष्ण लामा र सरकारी वकिलको कार्यालय रौतहटका प्रमुख ध्रुवमणि ज्ञवाली छानबिन दायरामा तानिएका हुन्। रौतहटका तत्कालीन प्रहरी प्रमुख लक्ष्मण न्यौपानेको भने मृत्यु भइसकेको छ।

बम बनाउने क्रममा विस्फोट भई घाइते भएका आठजनालाई जलाएर मारेको आरोपमा महम्मद आफताब आलमलाई पक्राउ गरेपछि रौतहट प्रहरीले त्यति बेला जिल्लाको प्रशासनिक नेतृत्व गर्ने अधिकारीहरुसँग अनुसन्धानका लागि सहयोग माग्ने र घटना कसरी भयो भन्ने जानकारी लिने उद्देश्यले उनीहरुलाई बोलाउने तयारी गरेको हो।

‘घटना पुरानो भएकाले त्यस बेला केके भएको थियो, प्रहरीले कसरी अनुसन्धान गरेको थियो भन्न जानकारीका लागि तत्कालीन प्रशासनिक अधिकारीहरुको सहयोग लिइनेछ’, २ नं। प्रदेश प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्कीले भने।

उनले घुमाउरो भाषामा उनीहरुलाई अनुसन्धानका लागि बोलाएको स्वीकार गरे।रौतहट प्रहरीले भने सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामाकै कमान्डमा बम विस्फोटका घाइतेलाई ओसार्न सुरक्षा दिएको आरोप लागेपछि उनलाई अनुसन्धानका लागि बोलाउन लागेको बताएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्