बेनी, ८ कात्तिक : केही समयअघिसम्म आर्थिक विकासका लागि स्वदेशमा सम्भावना नदेखेर अधिकांश युवा विदेश पलायन हुने भीडमा केहीले भने स्वदेशकै माटोमा पसिना बगाएर समृद्धिको सन्देश दिएका छन् । यसबाट उनीहरु आर्थिकरुपमा सबल हुनुको साथै अरुका लागि पनि प्रेरणाका स्रोत बन्ने गरेका छन् ।
मिहेनत र परिश्रम गरे रोजगारीको लागि विदेशमा मात्रै होइन, स्वदेशमा पनि कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीमा धेरै कृषकको सफलतामा देखिन्छ । कतिपय विदेशमा पुगेरसमेत मिहेनत र परिश्रमलाई चिनेका युवाहरु नै कृषि कर्ममा जमेका छन् ।
जिल्लामा यतिबेला मौसमी तथा बेमौसमी कृषि खेती र पशुपालनमा एकल तथा सामूहिकरूपमा अघि बढ्नेको सङ्ख्या बढ्दै गएको छ । निरन्तरको कृषि पेशाबाट रघुगङ्गा गाउँपालिको–३ फूलबारीका इन्द्रबहादुर भण्डारीले सफलता हासिल गरेको छ ।
व्यावसायिक मौसमी र बेमौसमी फलफूल र तरकारी खेतीबाट स्वदेशमै आकर्षक आम्दानी गर्न उहाँ सक्षम हुनुभएको हो । विगत १२ वर्षदेखि व्यावसायिकरूपमा तरकारी तथा फलफूल खेती गर्दै आएका भण्डारीले अहिले वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गरे ।
ग्रामीण भेगमा महिलाहरु चुलोचौकोमा मात्रै सीमित रहेको समयमा रघुगङ्गा गाउँपालिका–३ पिप्लेकी ३१ वर्षीया सन्तोषी भण्डारी मिहेनत, सङ्घर्ष र परिश्रमले आत्र्मनिर्भर बन्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ । भण्डारीले विगत नौँ वर्षदेखि पाँच रोपनी जग्गा भाडामा लिएर भैँसी, बाख्रा, कुखुरा र बङ्गुर पाल्दै आएको छ । उनले समिर पुशपक्षी पालन केन्द्र दर्ता गरेर व्यावसायिक रुपमा पशुपछी पालेर वार्षिक रु १२ लाखभन्दा बढी आम्दानी हुने गरेको बताए ।
स्थानीय स्रोत र साधन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानीका दुई युवा सुजन राम्जाली र इन्द्र थापाले तातोपानीको बँेसीमा व्यावसायिक माछापालन गरेको छ । चार वर्षदेखि आफुनै जग्गामा माछापालन शुरु गरेको राम्जालीले बताए । बाँझो, उर्भरभूमि र सधैँभरि बग्ने मूलको पानीलाई सदुपयोग गर्दै व्यावसायिक माछापालन शुरु गरेको उनिहरुले रु १५ लाखभन्दा बढी लगानी गरेको बताए ।
प्रविधियुक्त तथा हावापानी मिल्ने रेन्बो ट्राउट माछापालनबाट अहिले आकर्षक कमाइ हुन थालेको छ । मिठो स्वाद र स्वास्थ्यका लागि फाइदाको रूपमा चिनिने रेन्वो ट्राउट माछा प्रतिकिलो रु एक हजार ३०० का दरले पोखरीबाटै बिक्री हुने गरेको छ ।
नजिकै गाउँपालिकाको केन्द्र पोखरेबगर र नेपालमै प्रसिद्ध भुरुङ तातोपानी कुण्ड नजिक भएका होटलमा ग्राहकको मागअनुसार ताजा माछाको रुपमा बिक्री हुने राम्जालीले बताए । गाउँमै कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण मङ्गला गाउँपालिका–२ तोराखेतका थमप्रसाद पौडेलले दिएको छ ।
बेनी–दरवाङ सडक नजिकै पौडेलले व्यावसायिक पशुपालन तथा कृषि खेतीबाट वार्षिक रु साढे तीन लाख आम्दानी गर्दै आउनुभएको छ । दैनिक ३० लिटर दूध उत्पादन गर्ने पौडेलले भैँसी फार्ममा सातवटा भैँसी पाल्दै आएको छ ।उनले मासिकरूपमा रु ७० हजार आम्दानी हुने बताए ।
यी कृषि र पशुपालनमा सफलताका केही उदाहरण मात्रै हुन् । स्वदेशमै पसिना बगाउन लामबद्ध धेरै छन यहाँ । तर स्थानीय सरकार ग्रामीण क्षेत्रमा बाँझो रहेको जग्गालाई व्यावसायिक खेती तथा पशुपालनमा दिगो योजनासहित अघि बढ्नुपर्ने देखिन्छ । व्यावसायिक कृषि खेती तथा पशुपालन गरेका कृषकका समस्या समाधानका लागि कृषि तथा पशु कार्यालयमा दक्ष प्राविधिक राख्नुपर्ने अगुवा कृषकको माग छ ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले गाउँपालिकाभित्र स्थानीय स्रोतसाधन प्रयोग गरे व्यावसायिक आलु, माछा, चौँरी, भेडाबाख्रापालनलगायतका खेती र पशुपालन गर्ने कृषकलाई तालीम र अनुदान दिने निर्णय गरिएको बताउनुभयो । त्यस्तै रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले हरेक वडामा हावापानी सुहाउने कृषि नर्सरीसहित व्यावसायिक खेतीलाई प्राथमिकता दिइएको बताए ।