Logo

दीपावलीको अवसरमा नदी र सफाइ अभियान जारी



काठमाडौँ, ९ कात्तिक : राजधानीमा दीपावलीको रमझम बढे पनि उपत्यकाका वाग्मतीलगायत नदी एवं चक्रपथ सफाइ अभियानमा अभियानकर्मीको उपस्थिति भने घटेन ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान दशैँ, तिहार जस्ता ठूला चाडपर्व, जाडो, वर्षा, भूकम्पजस्ता प्राकृतिक विपत्तिलगायत अवस्थाका शनिबार पनि निरन्तर हुँदै आएको छ । सफाइ अभियानबाट आशातीत सफलता प्राप्त नभएपनि जागरण फैल्याउन महत्वपूण काम गरेको छ ।

वाग्मती सफाइ महाअभियानको ३३७औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं. ११ त्रिपुरेश्वरस्थित गुसिङ्गाल पुल क्षेत्रमा सफाइ गरियो । सफाइमा १८ संस्थाका ३५० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए ।

सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख लीलाप्रसाद ढकाल, पूर्वआयोजना प्रमुख आशीष घिमिरे, महानगरपालिका वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत पनि सक्रिय भएको थियो ।

भैरव स्मृति उद्यान सञ्चालनमा

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २९९औँ हप्तामा गोठाटार पुलमुनिको नदी र जोरपाटी चोकस्थित भैरव स्मृति उद्यान (पार्क) मा सफाइ गरियो । गत वर्ष पनि साहित्यकार भैरव अर्यालको स्मृतिमा बनेको उद्यानमा सफाइ भएको थियो । गत वर्ष नै उद्यान गोकर्णेश्वर नगरपालिका वडा नं. ५ सञ्चालनमा ल्याउने भनिए पनि कार्यान्वयन हुन सकेको थिएन ।

यसवर्षदेखि गुह्येश्वरीमाथिको वाग्मती सफाइ गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले नै उद्यान सञ्चालन गर्न लागेको अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिए । अब प्रत्येक दिन उद्यान खुल्ने र सफाइलाई पनि निरन्तरता दिइने जनाइएको छ । यसअघि उद्यानमा ताला लाग्ने गरेको थियो । जोरपाटी क्षेत्रमा बाक्लो बस्ती विकास भएपछि मानिस टहल्न खुला स्थानको अभाव भएपनि उद्यानमा भने ताला लाग्ने गरेको थियो ।

रुद्रमती सफाइ अभियानको २८९औँ हप्तामा रातोपुल क्षेत्रमा सफाइ गरियो । सफाइबाट एक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी रोहित गिरीले जानकारी दिए । सफाइपछि कला केन्द्रका तर्फबाट रुद्रमतीमा भएको देउसी भैलोमा पनि सहभागी भएको उनले सुनाए ।

विष्णुमती सफाइको २६४औँ हप्तामा टोखा नगरपालिका–११ मनोहर तीर्थघाटबाट मनमैँजु पुलसम्मको क्षेत्रमा सफाइ गरियो । त्यस क्षेत्रका घरधनी एवं व्यापारीलाई सडकमा उपस्थित भएर सफा गर्न सो अवसरमा आग्रह गरिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए ।

सोही नगरपालिकाको वडा नं.–९ सिद्धेश्वर टोल क्षेत्रका घरधनी र व्यवसायीलाई आफ्नो घरअघिको सडक, आँगन सफा राख्न आह्वान गरिएको थियो । यसैगरी सिद्धेश्वर मन्दिर र विष्णुमती नदीमा पनि सो अवसरमा सफाइ गरिएको थियो । सपाइबाट तीन टन फोहर व्यवस्थापन गरिएको उनले बताए ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सिद्धेश्वर टोल समिति, विनायक फोहर मैला व्यवस्थापन प्रालिलगायत संस्था र स्थानीयवासीको सक्रियता थियो । वाग्मतीको तिलगङ्गा क्षेत्रमा २३७औँ हप्ताको सफाइ गरियो । सफाइमा महिलाको विशेष उपस्थिति थियो । यस क्षेत्रको नदी किनारका स्थानीयवासीलाई फोहर सही रुपमा व्यवस्थापन गर्न जनचेतनामूलक अभियान सञ्चालन गरिएको थियो ।

मनोहरा नदी सफाइको १३६औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं. ३२ जडिबुटीस्थित मनोहरा तरकारी बजार क्षेत्रमा सफाइ गरियो । सफाइबाट चार टन फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्रप्रसाद दङ्गालले राससलाई जानकारी दिए । सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

स्थानीय तहको ध्यान गएन सफाइमा

चक्रपथ उत्तरी खण्ड सफाइको १३४औँ हप्तामा ग्रिनसिटी अस्पतालबाट बसुन्धरा प्रहरी चौकीसम्म सफाइ गरियो । पूर्वसचिव किशोर थापासहित १५० जना अभियानकर्मी सक्रिय रहेको सफाइबाट पाँच टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले राससलाई जानकारी दिए । अभियानकर्मी सक्रिय भई सफाइ गरेको दुई वर्ष बित्दासमेत स्थानीयस्तरको नीति निर्माण एवं विकास र सफाइको समेत संवैधानिक रुपमा जिम्मेवारी पाएको स्थानीय तहका जनप्रतिनिधिको ध्यान जान नसकेको चक्रपथवासीको गुनासो छ ।

यस क्षेत्रको चक्रपथ टोखा नगरपालिका–७ र काठमाडौँ महानगरपालिकाको वडा नं. ३ क्षेत्र पर्छ । दुवै वडाका अध्यक्षले सफाइले मात्र केही हुँदैन भनी टिप्पणी गरेको अभियानकर्मी रामचन्द्र सुवेदीले गुनासो गरे । यस क्षेत्रको सामाखुसी नदी अतिक्रमण गरी घर बनाएर बसेकालाई पनि स्थानीय तहले संरक्षण गर्दा नदी सफाइमा प्रतिकूल प्रभाव परेको उनले बताए ।

आलोकनगर सफाइको १३४औँ हप्तामा त्यस क्षेत्रमा जनचेतनामूलक अभियान सहमति सफाइ गरियो । सफकाइपछि सिद्धिविनायक शोभाभगवती तथा लोकेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको दीपावली, नेपाल संवत् ११४० र छठको शुभकामना आदान प्रदानमा समेत टोल टोलमा सफाइ गर्न जागरणमूलक सन्देश प्रवाह गरिएको सफाइ संयोजक प्रमिला पौडेलले सुनाए ।

चक्रपथको पश्चिमी खण्ड सफाइको ११६औँ हप्तामा वाफल क्षेत्रको टोल टोलमा चेतनामूलक अभियान चलाइयो । कलङ्कीबाट दोस्रो चरणको चक्रपथ बिस्तार शुरु भई रुख ढालिएकाले घर घरमा पुगेर जागरणमूलक सन्देश प्रवाह गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । यो अभियानलाई आगामी हप्ता पनि निरन्तरता दिइने उनको प्रतिबद्धता छ ।

यसैगरी उपत्यका सुन्दरीघाट, गुह्येश्वरी, ललितपुरस्थित गोदावरी खोलालगायत स्थानमा प्रत्येक हप्ता शनिबार जस्तै आज पनि सफाइ भएको अभियानकर्मीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot