Logo

भोलिदेखि बर्दघाटमा नियमित विद्युत् सुचारु हुने



परासी, १० कात्तिक : आगलागीका कारण बन्द रहेको पश्चिम नवलपरासीको बर्दघाटस्थित नेपाल विद्युत् प्राधिकरणको १३२-११ केभी सवस्टेशनबाट भोलिदेखि नियमित विद्युत् आपूर्ति सुचारु हुने भएको छ । बिहीबार राति आगलागी हुँदा सवस्टेशनमा रहेको ११ केभीको नियन्त्रण कक्षमा क्षति पुगेको थियो ।

आगलागी भएको स्थानको स्थलगत निरीक्षण गरी सवस्टेशनबाट छिटोभन्दा छिटो विद्युत् आपूर्तिको व्यवस्था मिलाउन शुक्रबार नै काठमाडौँबाट आएको नेपाल विद्युत् प्राधिकरण ग्रिड विकास विभागका निर्देशक दीर्घायु श्रेष्ठ नेतृत्वको टोलीले सहजीकरण गरिरहेको छ ।

आगलागीबाट क्षतिग्रस्त भएका उपकरण काम नलाग्ने अवस्थामा रहेकाले नयाँ उपकरण मगाएर विद्युत् पुनः सञ्चालन गर्ने प्रयत्न भइरहेको उल्लेख गर्दै निर्देशक श्रेष्ठले भने , “ग्राहकलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्तिको व्यवस्था गरिएको छ, आगलागीबाट क्षतिग्रस्त भएकाले नयाँ उपकरण ल्याइएको छ”, आज दिनभर नयाँ उपकरण जडान गरी परीक्षण गर्नेछौँ ।”

क्षतिग्रस्त भएका उपकरण हटाउन र नयाँ जडानका लागि गण्डक तथा हेटौँडादेखि पनि मर्मत टोली ल्याएर समस्या समाधानको काम गरिरहेको उनले बताए । नयाँ जडान गरिएका उपकरणको आज दिनभरिको परीक्षण सफल भएमा सोमबारदेखि नै यहाँबाट नियमित विद्युत् आपूर्ति गर्ने तयारी गरिएको निर्देशक श्रेष्ठले राससलाई बताए ।

प्राधिकरणले गण्डक, परासी सवस्टेशनबाट वैकिल्पक व्यवस्था गरी विद्युत् आपूर्ति गरेको छ । सवस्टेशनको नियन्त्रण कक्षमा रहेका विद्युत् नियन्त्रण गर्ने ‘ब्रेकर सर्ट’ हुँदा आगलागी भएको सवस्टेशनका इञ्चार्ज कृष्ण शर्माले जानकारी दिए । “रातिको समयमा आगलागी हुँदा तत्कालै नियन्त्रणमा लिन नसक्दा धेरै क्षति हुन पुग्यो, आठ वटा ब्रेकर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्, करोड बढीको क्षति पुगेको छ”, उनले भने । उनका अनुसार नियन्त्रण कक्षमा पस्ने दुईवटा र त्यहाँबाट बाहिर निस्कने फिडरमा आगलागी हुँदा पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । यस सवस्टेशनबाट दुम्कीबास, प्रतापपुर र सुनवल फिडरसम्म विद्युत् आपूर्ति हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot