Logo

तिहार मनाउन दुई दृष्टिविहीनलाई रु २६ हजार सहयोग



गलेश्वर, ११ कात्तिक : नेपाल तरुण दल जिल्ला कार्यसमिति म्याग्दीले आफ्नो ६६औँ स्थापना दिवसका अवसरमा तिहार राम्रोसँग मनाउन ज्यामरुककोटका दुई जना दृष्टिविहीनलाई खाद्यान्न र नगद गरी रु २६ हजार बराबरको सहयोग गरेको छ ।

तरुण दल म्याग्दीले गिट्टी कुटेर परिवारको गुजारा चलाउँदै आएका दृष्टिविहीन बेनी नगरपालिका–२ फाँपरखेतका आइतबहादुर नेपाली र नरप्रसाद विकलाई आइतबार २६ हजार बराबरको खाद्यान्न र नगद सहयोग गरेको हो । दृष्टिविहीनहरुको गाउँमा नै पुगेर दुई जनालाई १८ हजार बराबरको दाल, चामल, तेल, नुन, लगायतका खाद्यान्न र नगद रु चार÷चार हजार वितरण गरेको तरुण दल म्याग्दीका सदस्य विश्वास श्रेष्ठले बताए । “तिहार पर्वलाई रङ्गीन पर्व भनेर पनि भन्ने गरिन्छ, उनिहरुको अवस्था निकै कमजोर रहेछ”, श्रेष्ठले भने , “तिहार राम्रोसँग मनाउनुहोला भनेर हामीले सहयोग गरेका हौँ ।”

दैनिकजसो बिहानै ज्यालामजदुरीमा व्यस्त हुने नेपालीको परिवारमा बिहान–बेलुकी हातमुख जोड्न, दुई छोराको शिक्षादीक्षालगायत विभिन्न समस्या छ । कमजोर आर्थिक अवस्थाका कारण तिहार निकै खल्लो भएको नेपालीलाई सहयोगले केही भए पनि सहज हुने तरुण दल म्याग्दीका सचिव सुमन बानियाँले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा दृष्टिविहीन नेपालीले आर्थिक अभावका कारण छोराको पढाइ खर्चसमेत जुटाउन समस्या भइरहेको अवस्थामा प्राप्त सहयोगले सहज भएको बताए । अर्का दृष्टिविहीन विकले सहयोग पाउँदा बल्ल तिहार आएजस्तो महसुस भएको प्रतिक्रिया दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot