Logo

कर्णालीमा उपनिर्वाचनको सरगर्मी



सुर्खेत, १५ कात्तिक  : आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कर्णालीका दुई जिल्लामा तयारी तीव्र पारिएको छ । हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष तथा पहाडी जिल्ला सल्यानको कुमाख गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचन हुन लागेको हो ।

उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरु, निर्वाचन कार्यालय र सुरक्षा निकायहरु निर्वाचन लक्षित रणनीति बनाउन व्यस्त छन् । निर्वाचन आयोगले उपनिर्वाचनका लागि यही कात्तिक २१ गते उम्मेदवार मनोनयनको मिति तोकेको छ । दुवै जिल्लामा प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्गे्रसले आइतबारसम्म उम्मेदवारको टुङ्गो लगाउने गरी गृहकार्य गरिरहेको छ ।

हुम्ला काङ्गे्रस सभापति जयपति रोकायाले वडा कार्यसमितिलाई आकाङ्क्षीको नामावली पठाउन अनुरोध गरिएको बताए । काङ्गे्रसले उम्मेदवार छनोटका लागि स्थानीयस्तरमा मोहन सिंह र कैलाश भण्डारी नेतृत्वमा दुई टोली परिचालन गरेको छ । “वडा, गाउँपालिका हुँदै जिल्ला कार्यसमितिमा उम्मेदवारको नामावली पठाउन आग्रह गरेका छौँ”, सभापति रोकायाले भने , “सम्भवतः आइतबार बस्ने जिल्ला कार्यसमिति बैठकबाट उपाध्यक्षको टुङ्गो लगाउँछौँ ।” नेकपाले पनि आकाङ्क्षीको नाम सिफारिश गर्न स्थानीय कमिटीलाई अनुरोध गरेको छ ।

खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीको यही असार ३ गते जिप दुर्घटनामा परी निधन भएको थियो । उनि नेपाली काङ्गे्रसबाट निर्वाचित भएका थिए । यहाँका पाँच वडामा गरी तीन हजार २८७ मतदाता छन् । खार्पुनाथमा सत्तारुढ नेकपा र काङ्गे्रसबीच नै मुख्य प्रतिष्पर्धा हुने बताइएको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले खार्पुनाथ र आसपासको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आवश्यक सुरक्षा रणनीति बनाइने बताए । “यहाँका पाँचवटै मतदात केन्द्रमा सुरक्षा मजबुत बनाउन जिल्ला सुरक्षा समितिले आवश्यक गृहकार्य गरिरहेको छ, थप प्रहरी जनशक्ति पनि मागेका छौँ, शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गछौँ”, प्रजिअ भट्टराईले भने ।

सल्यानमा पनि उपनिर्वाचनको माहोल शुरु भएको छ । कुमाख गाउँपालिका–५का वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुखमा चयन भएसँगै त्यहाँ उक्त पद रिक्त छ । बुढाथोकी तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । सल्यान नेकपाका अध्यक्ष गोविन्द पुनले आइतबार बस्ने जिल्ला पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाउने बताए । उनले भने , “गाउँपालिका कमिटीले पठाउने तीन जना आकाङ्क्षीमध्ये सम्भवतः आइतबार एक जनाको टुङ्गो लगाउँछौँ ।” जिल्ला प्रशासन कार्यालय सल्यान पनि उपनिर्वाचनलाई शान्तिपूर्ण रुपले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको तयारीमा जुटिसकेको छ । यी दुवै जिल्लामा सुरक्षा निकायले यहाँ पनि प्रतिबन्धित विप्लव समूहलाई मध्यनजर गरी सुरक्षा रणनीति बनाइरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्