Logo

किसानलाई आत्मनिर्भर बनाउन बीउ वितरण



जाजरकोट, २० कात्तिक : उत्पादन बढाइ किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य लिई माटो जाँच गरेको भेरी नगरपालिकाले गहुँको मूल बीउ वितरण गरेको छ ।

जिल्लामा माटो सुहाउँदो बीउ नरोप्दा वर्षेनी उत्पादन घटिरहेको समयमा भेरी नगरपालिकाको यो कदमबाट किसान खुशी भएका छन् । २६ जना किसानलाई बीउ उत्पादन गर्न मूल बीउ वितरण गरिएको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

भेरी नगरपालिका –१ कालेगाउँको त्रिवेणी किसान समूहमार्फत मूल बीउ वितरण गरिएको हो । नगरप्रमुख घर्तीले भने , “ ठिमाह बीउबाट उत्पादनमा गिरावट आएपछि जिल्लाभर बीउ सहजरुपमा उपलब्ध होस् भनि यो कार्यको थालनी गरिएको छ ।” पक्कै पनि किसान दाजुभाइ ,दिदीबहिनीले यसको फाइदा उठाएका छन् ।” ६ क्वीन्टल गहुँ मूल बीउ वितरण गरी पहिलो चरणमा सिकाइ गरिने छ । ७५ प्रतिशत अनुदानमा बीउ उपलब्ध भएकोले खुशी भएको समूहका सचिव दलबहादुर खत्रीले बताए ।

पाँच हेक्टर जमीनमा लगाएर बीउ उत्पादन गरिने खत्रीले बताउनुभयो । त्यस्तै नगरपालिकाले हाईब्रिड (वर्णशङ्कर जात) तरकारी बीउ वितरण गरेको छ । नगरपालिकाले ईश्वर, काँसतारा, मटेला, कालेगाउँ, पिपे, बुहुँनथानालगायतका ठाउँमा व्यावसायिक रुपमा तरकारीखेती गरेका किसानलाई हाईब्रिड जातको काउली, बन्दा र गोलभेडाको बीउ वितरण गरेको भेरी नगरपालिका कृषि शाखाका भोला खत्रीले जानकारी दिए ।

त्यस्तै करेसाबारीमा मात्र तरकारी लगाउँदै आएका किसानका लागि उन्नत जातको काउली, बन्दा, गोलभेडा बीउ निःशुल्क वितरण गरिएको खत्रीको भनाइ छ । हाईब्रिड बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot