Logo

ऐतिहासिक कमलपोखरीमाथि बनेको छायाँ कम्प्लेक्स भत्काउने आदेश आउला ?



दीपेश केसी: भारतको सर्वोच्च अदालतले बाबरी मस्जिद रहेको जमिन राम मन्दिर निर्माण गर्ने फैसला गर्यो । भारतका प्रधानन्यायाधीश रञ्जन गोगईसहित न्यायाधीशहरु एस ए बोब्डे, डी वाई चन्द्रचुण, अशोक भुषण र एस अब्दुल नजिरको संवैधानिक इजलाशले फैसला गर्दा ऐतिहासिक तथ्य, विदेशी यात्रीहरुको यात्रा विवरण, पुरातात्विक अन्वेषणलाई आधार मानेको छ ।

अदालतले फैसलामा बाबरी मस्जिद भएको स्थानमा इस्लामिक ढाँचा जमिन मुनी नभएकाले बाबरी मस्जिद खाली जमिनमा नबनेको उल्लेख गर्यो । बाबरी मस्जिद खाली जमिनमा नबनेको ठहर गर्दै संरचना उठेको जमिनको भाग र जगमा गैर इस्लामिक ढाँचा थियो भन्यो । उक्त स्थानमा मन्दिर तोडेर बाबरी मस्जिद बनाइएको तर्क बलियो भयो । अदाललते अयोध्या भगवान रामको जन्मभूमी थियो पनि भन्यो । सन् १८५६ मा उक्त स्थानमा हिन्दु पूजा गर्थे भनियो ।

भारतको सर्वोच्च अदालतले अयोध्या जमिन विवादमा महत्वपूर्ण फैसला गरेर नयाँ नजिर स्थापित गर्यो । पुरानो संरचना, पुरातात्विक अध्ययन अनुसन्धान, ऐतिहासिक प्रमाणिक दस्तावेजको आधारमा बनिसकेको संरचना भएपनि त्यो भत्काएर जसको थियो उसैलाई दिनुपर्छ । यो नजिरले सँसारभरको अदालती फैसलामा असर पार्ने देखिएको छ ।

नेपालमा एउटा त्यस्तै जमिन सम्बन्धि विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । कमलपोखरीमाथिको छायाँ कम्प्लेक्स । ऐतिहासिक कमलपोखरी रहेको स्थान व्यक्तिले हडपेर छायाँ कम्प्लेक्स निर्माण गरिएको छ । अरबौं खर्च गरेर बनाइएको कम्प्लेक्सको वैधानिकतामाथि अदालतमा मुद्दा परेको छ । अब यो मुद्दाको फैसला बाबरी मस्जिदको ठाउँमा राममन्दिर बनाउने गरी भारतको सर्वोच्च अदालतले गरेको फैसलाको नजिर प्रभावित हुन्छ हुँदैन भन्ने गम्भीर प्रश्न उठेको छ ।

छायाँ कम्प्लेक्स ऐतिहासिक कमलपोखरीमाथि बनेकोमा कुनै द्धुविधा छैन । कम्प्लेक्स निर्माण पूरा भएको एक वर्ष मात्र भएको छ । पोखरी माँसिएको ५० वर्ष मात्र पुगेको छ । भारतको अदालतले बाबरी मस्जिद रहेको स्थानमा पाँच सय वर्ष अघि राममन्दिर रहेको दाबीलाई ऐतिहासिक दस्तावेज र पुरातात्विक अध्ययनले पुष्टि गरेको अवस्थामा ५० वर्ष अघि पोखरी रहेको तथ्यलाई नेपालको अदालतले कसरी लेला ?

अदालतमा मुद्दा
पहुँच र प्रभावका भरमा ऐतिहासिक र सांस्कृतिक महत्वको ठमेल थँबहिलस्थित कमलपोखरीको जग्गामा निर्माण गरिएको गगनचुम्बी छायाँ कम्प्लेक्समा सर्वोच्च अदालतको फैसला ऐतिहासिक कमलपोखरी वा पाँच अर्ब लागतमा बनेको भनिएको कम्प्लेक्समध्ये कस्को पक्षमा हुने हो ? सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएपछि चोलेन्द्र शमशेर राणाले महत्वपूर्ण फैसलाहरु गरेको सन्दर्भमा कमलपोखरी जग्गाबारे मुद्याले कुन मोड लिई कस्तो नतिजा पाउने हो ?

छायाँ कम्प्लेक्स बनेकोमध्ये १२ रोपनी १३ आना २ पैसा २ दाम जग्गा श्री सिंह सार्थ बाहु गरुड भगवान गुठी अन्र्तगतको कमलपोखरीको जग्गा हो भनी मुद्दा दायर छ । अदालतले दायर मुद्यामा जवाफ मागेपछि तथ्यसहित लिखित जवाफ पुगिसकेको छ ।

श्री सिंह सार्थ बाहु गरुड भगवान गुठीका गुठियार भागवतनरसिंह प्रधानले ‘गुठी रैतानी निर्णय बदर गराईपाउँ’ भनी दायर गरेको मुद्यामा २०७३ चैत १० गते न्यायाधीशहरु जगदीश शर्मा पौडेल र केदारप्रसाद चालिसेको संयुक्त इजलासबाट मुद्या अगाडि बढाउन निस्सा प्रदान गरेपछि विवादास्पद जग्गाबारे कानुनी प्रक्रियाले अर्को मोड लिएको हो ।

श्री सिंह सार्थ बाहु गरुड भगवानको मन्दिर

सर्वोच्चले निस्सा प्रदान गरेको र प्रमाणिक दस्तावेजले पनि कम्प्लेक्स बनेको मध्ये १२ रोपनी १३ आना २ पैसा २ दाम जग्गा कमलपोखरीको हो भन्ने ठोस प्रमाण मिलेकाले योजनावद्ध तरिकाले प्रमाण नष्ट गर्ने गतिविधि देखिएको छ । निस्सा प्रदान गरी मुद्या अगाडि बढेपछि सर्वोच्चले २०७४ चैत्र २७ मा मालपोत कार्यालय काठमाडौंलाई जग्गाधनी स्रेस्ताको सक्कल मिसिल माग्दा उपलब्ध गराउन सकेन । उसले माग बमोजिम २०४४ मंसिर २३ मा ‘श्री ५ को सरकार’ को नाममा दर्ता कित्ता नम्बर १६७ को जग्गाधनी स्रेस्ताको सक्कल मिसिल पठाउन नसकिएको पत्र सर्वोच्चलाई पठायो ।

पोखरी माँसेर छायाँ कम्प्लेक्सः प्रमाणिक दस्तावेज
कमलपोखरीको जग्गामा केशर शमशेर राणाले राणा शासनकालमा प्रभाव देखाएर हडपेको तथ्य गुठी संस्थानको दस्तावेजहरुले देखाएको छ । राणाका सन्तान जग्गा दाबी गर्दै अदालतमा पुग्ने र गुठियारहरुलाई प्रभावमा पार्ने गरिरहे । त्यसपछि पाँडे परिवारको हातमा पुगेको उक्त जग्गामा कम्प्लेक्स निर्माण भयो । जिम्मेवारी र जवाफदेहिता हुनुपर्ने राज्यको महत्वपूर्ण पदमा पुगेकाहरु समेत विवादमा मुछिएको तथ्य खुल्यो ।

कमलपोखरी पुरेर खन्ने क्रममा पाइएको ११ औं शताब्दी पुराना इँटाहरु ।

२०२४ साल जेठ १ गतेको गुठी संस्थानको दस्तावेज अनुसार कमल पोखरीको डिलको २६ रोपनी जग्गा हडपेर सट्टाभर्ना समेत नदिइएको उल्लेख छ । दस्तावेजको बुँदा नम्बर ४ मा भनिएको छ, ‘फिल्ड मार्सल केसर शमशेर जबराबाट क्याम्पा भित्र पारी पर्खाल लगाई चलन गर्नु भयो र पोखरीको आयस्ता वापत रु १२५ सालना दिने गरेको छ । पोखरीको डिलको जग्गाको सट्टा भर्नालाई जग्गा खोजी जाहेर गर्नु भन्ने वहाँको १९७८ साल माघ २ गतेको दस्तखत पनि छ त्यसको सट्टा भर्ना र वाली समेत आज सम्म पाएको छैन । सो गुठी जग्गाको बाली आयस्ता नपाएको वेहोरा वहाँ जीवित हुँदा निवेदन गर्दा मिलाई दिने मौखिक आश्वासन सम्म पाएको आधारमै बसी रहेको थियो त्यस पछि वहाँको रानी छेउ निवेदन गरी पठाएकोमा केही जवाफ दिनु भएन । त्यसो हुनाले गुठी संस्थानबाट सो दिलाउने विषयमा लेखा पढी भई दिए झै झगडा गरी वर्षौ सम्म अलमलिनु नपरी काम हुने थियो ।’ यसबाट जग्गा हडपिएको र आयस्ता रकम पनि नदिने जग्गा सट्टाभर्ना पनि नदिने व्यवहार देखिन्छ ।

१७३९ को भगवान गुठीमा सुरक्षित लालमोहर ।

जग्गा हत्याउन विगतबाट नै योजनावद्ध तरिकाले पहुँचवाला ठूलो गिरोह लागेको तथ्य फेला परेको छ । विवादित जग्गा राजगुठी सिंह सार्थबाहु गरुड भगवान गुठीको नामको हो भन्ने तथ्य वि.सं. १९७७ मा केसर शमशेर राणाले पोखरीको आयस्ता वापत् १ सय २५ रुपैयाँ दिने गरेको प्रमाणले देखाउँछ । गुठी संस्थानसँग उक्त जग्गा गरुड भगवान गुठीको हो भन्ने ऐतिहासिक दस्तावेज सुरक्षित छ ।

केशर शमशेरले कमलपोखरी प्रयोग गरेवापत् सट्टाभर्नाका जग्गा दिने र पोखरी प्रयोग गरेवापत् मोरु १२५ दिने भनी गुठीलाई लेखेको पत्र ।

उक्त जग्गा कमलपोखरी र डिल कायम हुनुपर्ने भनी २०२७ मा दायर गरिएको मुद्यामा सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशबहादुर केसी र विश्वनाथ उपाध्यायको इजलाशले २०३३ पौष ३ गते निवेदकको पक्षमा फैसला गर्दै श्री सिंहसार्थ बाहु गरुड भगवान गुठीको मातहत गरेको पुरातात्विक महत्वको कमलपोखरी र त्यसको डिल कायम हुनुपर्ने’ भनेको छ । तर, कानुनको छिद्रमार्फत् पहुँच र प्रभाव देखाउँदै ऐतिहासिक तथा पुरातात्विक महत्वको जग्गा व्यक्तिको नाममा पटक पटक कित्ताकाट पछि खरिद विक्री भएको देखिन्छ । २०३३ को नापी अनुसार १६७ कित्ता नम्बरको जग्गा १२ रोपनी १३ आना २ पैसा २ दाम देखिन्छ । २०३९ जेठ २४ को जग्गाधनी पूर्जामा पोखरी उल्लेख गरी जग्गाधनी गुठी उल्ल्ेख छ । २०४२ सालको फिल्डबुकमा समेत पोखरी लेखिएको छ ।

जग्गामा चलखेल
२०३३ माघ ८ मा गुठियार, केयूर शमशेर र गुठी संस्थानबीच सवोच्च अदालतमा मिलापत्र भई जग्गाको बहाल तिर्ने सहमति भएको देखिन्छ । २०३९ सालमा मोही दर्ता गरी कित्ता नम्बर १६७ विक्री गरिएको थियो । गुठी संस्थान ऐन अनुसार ऐतिहासिक तथा पुरातात्विक महत्वका पोखरी, मठ मन्दिर, बाग बगैंचा, आदि जग्गामा मोही समेत कायम नहुने व्यवस्था भएपनि कित्ता काट गरी शुरुमा बिना पौड्याल र त्यसपछि सुधा पौड्याललाई राजीनामा गरिदिएका थिए । उक्त जग्गामध्ये बिनाले खरिद गरेको कित्ता नम्बर १६१८ र सुधाले खरिद गरेको १६१६ काम गरियो । कित्ता नम्बर १६१८ कित्ता केयूर शमशेर राणाकै नाममा रह्यो । केयूरको मृत्युपछि अम्बिका राणाको नाममा जग्गा दर्ता भयो । पौड्यालद्वयको नामको दुई कित्ता जग्गा शंकरप्रसाद शाहको नाममा पास गरियो ।

२०४४ मा उक्त जग्गा श्री ५ को सरकारको नाममा आयो । २०४७ मा गुठी लगत तथा तहसिल कार्यालयले रैतानी गरिदियो । तर, गुठी संस्थानले निर्णय सच्याएर रैतानी सच्याएर पुरानै अवस्थामा फर्कायो । अम्बिका राणा अदालत गएपछि अदालतले रैतानीको पुरानो निर्णयलाई सदर ग¥यो । मुद्या रोकिएन ।

२०६२ मा गुठियार र राणाबीच विवादास्पद सम्झौता भई गुठीको सबै पर्व परम्परा सञ्चालन गर्न एक करोड ५० लाख रुपैयाँ दिने र गुठियारले हकदाबी छाड्ने विवादास्पद सहमति गराइयो । गुठीको जग्गामा केही गुठियारले चलखेल गरेको तथ्य भेटिन्छ । २०६३ मा सुरेशाय हाउजिङलाई जग्गा विक्री गरियो । २०६४ मा सुरेशायले कित्ता नम्बर २४१२ र शंकर शाले कित्ता नम्बर १६१६ र १६१८ को विवादास्पद जग्गा प्रतिमा पाँडेलाई विक्री गरेको मालपोत कार्यालयको रेकर्ड छ । पाँडेको नाममा जग्गा पुगेपछि छायाँदेवी कम्प्लेक्स प्रा.लि.को नाममा पास गरेर छायाँ कम्प्लेक्स निर्माण प्रक्रियालाई गति दिएको देखिन्छ । प्रतिमा छाँया सेन्टर प्रा.लिंको ४३ जना शेयरहोल्डरमध्ये पर्छिन् । उनको नाममा १ करोड २४४ हजार ४ सय रुपैयाँ बराबरको सेयर छ ।

कम्प्लेक्समा चर्चित व्यापारी पृथ्वी बहादुर पाँडे देखि दिपकमान शेरचन, महेश्वर प्रकाश श्रेष्ठ, सिद्धान्तराज पाण्डेय, योगेन्द्रबहादुर शाक्य, विकाश थापा, प्रजन्य राजभण्डारी, सिद्धान्त बहादुर पाँडे, राजधानी इन्भेष्टमेन् फण्ड प्रा.लि., सुरेश लाल श्रेष्ठ, ज्ञानेन्द्र खनाल, सिताराम महासेठ, हिमालयन इन्फ्रास्ट्रकचर फण्ड लिं, महेन्द्रलाल प्रधान, रवीन्द्र राजभण्डारी, महेश खनाल, दिक्षान्त दाहाल, आशिष पौड्याल, योगेश भण्डारी, सुमन विक्रम पाण्डे, अनु पाण्डे पन्त, नेमेन्द्र जंग थापा, मिजास भट्टचन, किरण मान शेरचन, मनोहर प्रसाद शेरचन, शान्त बहादुर मल्ल, ध्रवनारायण श्रेष्ठ, प्रयुष राजभण्डारी, प्रणय राजभण्डारी, उर्मिला पाण्डे, पि.एम.एफ इन्भेष्टमेन्ट प्रा.लि., पूर्व प्रधानसेनापति प्रज्ववल शमशेर जबरा र उनकी पत्नी सिन्धु राणा, स्याकार ट्रडिङ कम्पनि प्रा.लि., रेखा घिमिरे, इन्दु शर्मा, प्रज्वल भण्डारी, प्रतिमा पाँडे, निर्मल प्रधान, लक्ष्मी शाक्य, प्रेम शोभा तुलाधर, रक्षक महत र पारुल पाँडेसहित ४३ जना शेयरहोल्डर छन् । पहुँचवाला व्यक्तिहरुको शेयर हुनुले प्रमाणित दस्तावेजले मोहियानी नलाग्ने राजगुठी अन्र्तगतको पोखरीको भनी स्पष्ट हुँदा हुँदै पहुँच र प्रभावका भरमा भवन निर्माण भएको हो ।

तस्बिर स्रोतः कमलपोखरीबारे भागवतनरसिंह प्रधानको २०७१ मा प्रकाशित पुस्तक र दीपेश केसी

 



प्रतिक्रिया दिनुहोस्

Screenshot