Logo

नेपालले आफ्नो भू–भाग फिर्ता गराउनको लागि सम्पूर्ण शक्ति लगाउनुपर्छ : रमेश लेखक



काठमाडौं, २४ कात्तिक ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले कालापानी नेपालकै भूभाग भएको भन्ने कुरामा कुनै अस्पष्टता र द्धिविधा नभएको बताएका छन् । उक्त कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले फिर्ता लिनुपर्ने लेखकको भनाई छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सिमा विवादबारे सबै दल एकमत छन् । अब भारतसँग नेपाल सरकारले उच्च राजनीतिक र उच्च कुटनीतिक तहमा छलफल गर्नुपर्छ । हिजोको बालुवाटारको सर्वपक्षीय बैठकले सरकारलाई शक्ति प्रदान गरेको छ ।’ उनले महाकाली नदीका पूर्वका सम्पूर्ण भूभाग नेपालको भएको दाबी गरे । उनले भने,‘हिजोको सर्वपक्षीय बैकठमा हाम्रो पार्टी सभापतिले पनि स्पष्ट रुपमा यो कुरा राख्नुभएको छ ।’

उनले भने,‘कालापानीलगायतका क्षेत्र, अहिले भारतीय सुरक्षा बल बसेको छ त्यो भुभाग नेपालको हो । त्यसमा कुनै दुईमत र विवाद छैन् । हाम्रो सभापतिले हिजोको बैठकमा पार्टीको तर्फबाट प्रष्ट धारणा राख्नुभएको थियो की अहिले भारतीय सुरक्षा बल बसेको कालापानीलागतयका भुभाग नेपालको भुभाग हो भनेर ।’

लेखकले देशको लागि अहिले ठूलो अवसर प्राप्त भएको पनि सुनाए । उनले थपे,‘अहिलेको सरकार अत्यन्तै बलियो छ । दुई तिहाईको सरकार छ । हिजोको बैठकबाट देशमा यो विषयमा सबै दलबीच एकमत धारणा बनेको छ । हामीले उच्च कुटनीतिक पहल गर्नुपर्छ भनेर आग्रह गरेका छौं ।’ उनले सरकारलाई अवसरसँगै अग्निपरीक्षासमेत सुरु भएको सुनाए ।

उनले नेपालले आफ्नो भुभाग फिर्ता गराउनको लागि सम्पूर्ण कुटनीतिक र राजनीतिक शक्ति लगाउनुपर्ने धारणा राखे । उनले भने,‘यो सरकारसँग ठूलो अभिभारा छ । सरकारलाई हामी जस्तोसुकै सहयोग गर्नपनि तयार छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot