काठमाडौँ, ४ मंसिर। भूकम्पले क्षतिग्रस्त राणाकालीन भवन बबरमहलको प्रबलीकरण सुरु भएको छ । गत असारमै सम्झौता भए पनि काममा ढिलाइ भइरहेको थियो ।
भवनमा रहेका कार्यालयहरूको सामान स्थानान्तरण गर्ने स्थान अभावमा काम ढिलाइ भएको प्राधिकरणले जनाएको छ । अहिले भवनमा रहेका कार्यालयका सामग्रीहरू राख्ने टहरा बनाई स्थानान्तरण गरिएको छ । प्रबलीकरण दुई वर्षमा सक्ने प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन० का आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले बताउनुभयो ।
बबरमहल प्रबलीकरणको ठेक्का जिसी–आशिष–समानान्तर जेभीलाई दिइएको छ । निर्माण कम्पनीले ८६ करोड दुई लाख ५२ हजार रुपियाँको लागतमा प्रबलीकरण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।
भूकम्पअघि बबरमहलमा सडक विभाग, महालेखा परीक्षक, गोश्वारा हुलाक, निर्वाचन आयोगका केही कार्यालय सञ्चालनमा थियो । हाल यी कार्यालयहरू अन्यत्र सरेका छन् । बबरमहलको प्रबलीकरणमा परम्परागत निर्माण सामग्रीहरू चुना, सुर्की, काठलगायत वस्तुको प्रयोग गरिने उपनिर्देशक विश्वकर्माले बताए।
भवनको प्रबलीकरणसँगै सम्पूर्ण सुविधाको जडान गरी यसअघि बसिरहेका सम्बन्धित निकायहरूलाई नै प्रशासनिक उपयोगका लागि हस्तान्तरण गरिने उनले बताए। अहिले भएको बबरमहलको तीन तले भवन चन्द्र शमशेरले आफ्ना छोरा बबरशमशेरका लागि बनाएको इतिहासकारहरू बताउँछन् ।
इतिहासकार पुरुषोत्तम शमशेर जबराका अनुसार, बबरमहल रहेको स्थानमा जङ्गबहादुर राणाले त्यसअघि नै दरबार बनाउन लगाएका थिए । वि। सं। १९३३ फागुनमा जङ्गबहादुरको मृत्युपछि पनि यो दरबारमा उनका रानी, महारानी र छोराछोरी बसिरहेका थिए ।
वि।सं। १९४२ मा शमशेर खलकले विद्रोह गरेपछि जङ्गबहादुरका सन्तानहरू लाखापाखा लागे । त्यसपछि यो दरबार देव शमशेरको स्वामित्वमा पुगेको जबराले आफ्नो पुस्तकमा उल्लेख गरेको छ ।
वि।सं। १९५८ मा देव शमशेर पनि पदमुक्त गरिएपछि तत्कालीन शासक चन्द्र शमशेरले दरबारमाथि आँखा लगाए । जङ्गबहादुरले बनाएको पाँचतले दरबार वि।सं। १९६६÷६७ तिर तोडफोड गरी तत्कालीन इन्जिनियरहरू कुमारनरसिंह राणा र किशोर राणाहरूबाट महल तयार गराई चन्द्र शमशेरले आफ्नो छोरा बबरशमशेरलाई दिएको इतिहासकार जबराको ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’ पुस्तकमा लेखिएको छ ।
गोरखापत्र दैनिकबाट