Logo

भ्रमण वर्षको तयारी फितलो



काडमाडौँ, १० मंसिर । नेपाल सरकारले सन २०२० लाई भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरे पनि त्यसको तयारी भने फितलो देखिएको छ। कतिपय मुलुकमा बजार प्रवर्द्धनसमेत गर्न सकेको छैन। भ्रमण वर्ष सचिवालयले विदेशी मुलुकमा बजार प्रवर्द्धन गर्न नसक्दा भ्रमण वर्षको लक्ष्य पूरा गर्न कठिन हुने देखिएको छ। सन २०२० मा विश्वभरीबाट २० लाख पर्यटक भित्र्याउने लक्ष्य नेपाल सरकारले लिएको छ। तर लक्ष्यअनुसार तयारी छैन। सन २०२० मा कुन मुलुकबाट कति पर्यटक भित्र्याउन सकिन्छ भन्नेबारे सचिवालयसँग यकिन तथ्यांक छैन।

उसको तयारीसमेत फितलो देखिएको छ। कतिपय मुलुकमा बजार प्रवर्द्धन नगर्दा त्यहाँका नागरिक नेपालको भ्रमण वर्षबारे बेखवर छन्। सचिवालयले अहिलेसम्म जापानमा बजार प्रवर्द्धन गरेको छैन। जापानी नागरिकका लागि नेपाल महत्र्वपूर्ण गन्तव्य हो। जापानजस्तो देशमा सरकारले पर्यटन प्रवर्द्धन गरेको छैन भन्नु लाजमर्दो कुरा हो। अन्नपूर्णलाई प्राप्त पछिल्लो तथ्यांकअनुसार यस वर्षको नोभेम्बर २४ सम्म २६ हजार ६ सय १५ जापानी नागरिक नेपाल आएका छन्। सन २०१८ मा २९ हजार जापानी नागरिकले नेपाल भ्रमण गरेका थिए। सन २०१७ मा त्यो संख्या २० हजार ८ सय ४६ थियो। सन २०१९ को नोभेम्बर सम्मको तथ्यांकलाई विश्लेषण गर्दा जापानका धेरै नागरिक नेपाल भ्रमण गर्न लालयित देखिन्छन्। नेपाललाई बिनास्वार्थ सहयोग गर्दै आएको र नेपाल घुम्न आउन चाहने पर्यटक प्रशस्तै छन्। जापानी पर्यटन व्यवसायीलाई नै सन २०२० मा नेपाल भ्रमण वर्षबारे थाहा छैन। सचिवालयको उदासिनताले नेपाल भ्रमण वर्षबारे जापानी पर्यटन उद्योग बेखवर भएका हुन्। टोकियोमा प्रमुख कार्यालय रहेको जापान एसोसिएसन अफ ट्राभल एजेन्ट ९जाटा०का अधिकारी नेपाल भ्रमण वर्षबारे अनभिज्ञ छ। जाटाले अन्य मुलुकसहित एसिलायी मुलुकमा पनि जापानी नागरिकलाई भ्रमणका लागि पठाउने गर्छ। जाटाका नायव प्रबन्ध निर्देशक माकोता ओनुकीले सन २०२० लाई नेपालले भ्रमण वर्षको रूपमा मनाउन लागेको बारे आफूलाई कसैले नभनेको बताए।

टोकियोस्थित जापानी दूतावासले समेत भ्रमण वर्षबारे केही नभनेको उनले सुनाए। प्रबन्ध निर्देशक ओनुकीले अन्नपूर्णसँग भने, ‘जापानका टुर अप्रेटरलाई नै नेपालको भ्रमण वर्षबारे थाहा छैन। पर्याप्त मार्केटिङ भएन भने भ्रमण वर्षको खासै अर्थ हुँदैन।’ नयाँ गन्तव्य खासै नभएको र पहिल्यै आइसकेको स्थानमा घुम्न जापानी नागरिक इच्छुक हुँदैनन्। टोकियोस्थित नेपाली दूतावासले समेत नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गरेको देखिँदैन। सन २०१८ मा म्यान्मा सरकारले जापानी पर्यटक भित्र्याउन निःशुल्क भिसा दिएको थियो। म्यान्माको दृष्टान्त दिँदै ओनुकीले भने, ‘पर्यटक आकर्षित गर्न के के गर्न सकिन्छ नेपाल सरकारले सोही नीति अवलम्बन गर्नुपर्छ।’ पर्यटक भित्र्याउन सिधा उडान आवश्यक पर्ने उनीहरूले बताए। ओसाकाबाट काठमाडौंसम्म सिधा उडान भए पनि जापानी नागरिक नेपाल वायु सेवाप्रति आकर्षित हुन सकेका छैनन्। कतिपय जापानीलाई त काठमाडौंसम्म सिधा उडान भएको पत्तोसमेत छैन। टोकियोमा रहेको नारिता वा हानेदा विमानस्थलबाट काठमाडौंसम्म सीधा उडान तत्काल सुरु गर्नुपर्ने जापानका टुर अप्रेटरको भनाइ थियो। नेपाल वायु सेवा निगमले जापानमा बजार प्रवर्द्धन गर्न सकेको छैन। बजार प्रवर्द्धन गर्न नेपालको पर्यटन बोर्डको कार्यालय स्थापना गर्नुपर्ने उनीहरूले सुझाव दिए। जापानका टुर अप्रेटरले नेपालमा सीमित संख्यामा मात्र पर्यटकीय गन्तव्यस्थल भएको बताए। नेपाल र जापानमा ट्राभल एजेन्सी चलाइरहेका एक जापानी पर्यटन व्यवसायीले अन्न्पूर्णसँग भने, ‘नेपालले कहिलेसम्म सगरमाथा, लुम्बिनी र पोखरालाई बिकाउने। नयाँ पर्यटकीय गन्तव्य किन पहिचान गर्न सक्दैन।’ पर्यटन वर्षको घोषणा गरेर मात्र नहुने उनको तर्क थियो।

जापानीले नेपाल घुम्न पाउँदा आफूलाई भाग्यमानी र सुरक्षित ठान्छन्। नेपालमा जापानी पर्यटकमात्र भित्र्याउने झण्डै आधा दर्जन जापानी कम्पनी छन्। ती कम्पनीका लगानीकर्तासमेत जापानी नागरिक नै छन्। उनीहरूसमेत भ्रमण वर्षबारे बेखवर छन्। उनीहरू भन्छन्, ‘नेपाल सरकारले हामीलाई पर्यटन वर्षबारे केही भनेको छैन। विगतदेखि हामीले आफ्नो व्यवसायलाई निरन्तरता दिइरहेका छौं।’ भ्रमण सचिवालयले जापानमा आफूहरूले बजार प्रवर्द्धन गर्न नसकेको स्वीकारेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र भ्रमण वर्ष सचिवालयबीच समन्वयको अभाव रहेको स्रोतले बताएको छ। भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले भ्रमण वर्ष सफल बनाउन विभिन्न मुलुकमा पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम भइरहेको बताए। सचिवालय संयोजक वैद्यले अन्नपूर्णसँग भने, ‘जापानमा सोचेजस्तो मार्केटिङ हुन सकेको छैन। त्यहाँको एनआरएन र नेपाली दूतावाससँग समन्यव भइरहेको छ।’

पर्यटन प्रवर्द्धनका लागि आफ्नो टिम छिट्टै जापान पुग्नेसमेत वैद्यले जानकारी दिए। सरकारले जनवरी १ का दिन भव्य कार्यक्रमको अयोजना गरी नेपाल भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी गरेको छ। पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष प्रवर्द्धनका लागि विभिन्न ४० मुलुकका पर्यटन मन्त्रीलाई नेपाल निम्त्याएका छन्। जनवरी ७ मा ४० मुलुकका पर्यटनमन्त्रीसँग अन्तक्र्रिया कार्यक्रम रहेको मन्त्री भट्टराईको सचिवालयले जानकारी दिएको छ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्

Screenshot