Logo

काम नगर्ने ठेकेदार कम्पनीलाई स्पष्टीकरण



काठमाडौं, मंसिर १९। प्रधानमन्त्रीको कार्यालयले विकास निर्माणमा सक्रियता देखाउँदै ढिलासुस्ती गर्ने नौवटा ठेकेदार कम्पनीमाथि स्पष्टीकरण सोधेको छ ।

कालोसूचीमा राख्ने प्रयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलले ठेकेदारमाथि स्पष्टीकरण सोधेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि मात्रै काठमाडौंको सडकका खाल्टाखुल्टी दुई महिनाभित्र पुर्न र काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको सोही निर्देशनअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौंका खाल्टाखुल्टी पुर्न र सार्वजनिक खरिद अनुगमन कार्यालयले काम नगर्ने ठेकेदारमाथि कारबाही प्रक्रिया थालेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मेवारी पूरा नगर्ने नौ ठेकेदार तथा कम्पनीलाई एक साताको म्याद राखेर लिखित स्पष्टीकरण दिन सार्वजनिक सूचना जारी गरेको हो ।

कार्यालयले यसअघि एक महिनाको समय दिएर ती फर्मलाई कालोसूचीमा राख्न सार्वजनिक निकायबाट लेखी आएको भन्दै स्पष्टीकरण सोधे पनि बेवास्ता गरेपछि पुनः स्पष्टीकरण सोधिएको हो ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्