काठमाडौँ, २१ मङ्सिर : मानव बेचविखनका घटनामा सबैभन्दा बढी म्यानपावर तथा परामर्शदाताको संलग्नता हुने गरेको एक अध्ययनले देखाएको छ । महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) ले वर्ष २०७५ भित्र विभिन्न सञ्चार माध्यममा प्रकाशित बेचविखनसम्बन्धी समाचार सामग्रीको अध्ययनमा बेचविखनको घटनामा ३३ प्रतिशत म्यानपावर व्यवसायी र परामर्शदाताको संलग्नता रहेको पाइएको छ ।
बेचविखनको घटनामा गैरनेपाली नागरिकको पनि बाक्लो संलग्नता रहेको प्रतिवेदनले औँल्याएको छ । २७ प्रतिशत बेचविखनको घटनामा भारतीय नागरिकको संलग्न रहेका थिए भने छिमेकीको संलग्नता १२ प्रतिशत घटनामा रहेको थियो ।
प्रेमी र श्रीमान, विश्वासिलो साथी तथा कुनै चिनजानमा नरहेको व्यक्ति पनि बेचविखनमा संलग्न भएको पनि प्रतिवेदनमा उल्लेख छ । ६ प्रतिशत घटनामा प्रेमी र श्रीमानको संलग्नता पाइएको थियो । २ प्रतिशतमा साथी तथा अन्य ३ प्रतिशत घटनामा दलाल संलग्न भएका थिए ।
अध्ययन प्रतिवेदनले सीमापार मात्रै होइन आन्तरिक रुपमा पनि बेचविखनको अवस्था भयावह रहेको देखाएको छ । सीमापार लगेर बेचबिखन गरिएका घट्ना ५४ प्रतिशत, वैदेशिक रोजगारीसँग सम्बन्धित २६ प्रतिशत र आन्तरिक ओसारपसार तथा बेचबिखनसँग सम्बन्धित ८ प्रतिशत थिए । यसैगरी मानव अङ्ग बेचविखनसँग सम्बन्धित घटना ९ प्रतिशत थिए तर ३ प्रतिशतमा कस्तो प्रकारको बेचबिखनको हो भन्ने उल्लेख थिएन ।
बेचविखनमा परेकामध्ये ५१ प्रतिशत यौन शोषणमा प्रयोग गरिएको पाइएको थियो । यस्तै ३५ प्रतिशत श्रम शोषण, ९ प्रतिशत मानव अङ्ग बेचविखन र ५ प्रतिशतल बौद्ध धर्म दर्शन पढ्न वा लामा बनाउने आशय ओसारपसार गरिएकासँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित समाचारमा बेचविखनको मुख्य कारणका रुपमा गरिबी रहेको पाइएको छ । बेचविखनका कारणमा गरिबी र दयनीय आर्थिक अवस्था भन्नेमा ३७ प्रतिशत, रोजगारीको अभाव तथा राम्रो कामका लागि भन्नेमा ३७ प्रतिशत तथा विवाहका लागि भन्नेमा १६ प्रतिशत थियो । यसैगरी मानव अङ्ग बेचविखनका लागि र पढाइदिन्छु भनेर १६ प्रतिशत तथा २ प्रतिशत घट्नामा पारिवारिक बिग्रहलाई कारण मानिएको प्रतिवेदनमा जनाइएको छ ।
सोही अवधिमा मानव बेचविखनसँग सम्बन्धित समाचार प्रकाशनका क्रममा आचारसंहिताको पूर्णपालना नभएको प्रतिवेदनमा उल्लेख छ । आचारसंहिता पूर्णपालना गरेका समाचार १९ प्रतिशत थिए । २४ प्रतिशत समाचारमा प्रभावितको सक्कली नाम छापिएको थियो भने ४५ प्रतिशत समाचारमा सहायक परिचय (घर, ठेगाना वा आमाबाबुको नाम) प्रकाशित गरिएको थियो । ९ प्रतिशतमा भने नक्कली नाम थियो तर ३ प्रतिशतमा त प्रभावितको फोटो नै छापिएको पाइएको थियो ।
लैगङ्कि आधारमा बेचविखनमा परेका ४८६ प्रभावितमध्ये ८६ प्रतिशत महिला र १४ प्रतिशत पुरुष रहेका थिए । १८१ समाचारमा प्रभावितको उमेर उल्लेख गरिएको थियो । जसमा ० देखि १७ वर्ष उमेर समूह अर्थात् बालबालिका देखि किशोरकिशोरीको समूहका नै ५० प्रतिशत थिए । यसैगरी १८ देखि २९ वर्ष उमेर समूहका ४१ प्रतिशत र ३० देखि ४९ वर्ष उमेर समुहका ९ प्रतिशत थिए । ५० वर्ष माथिको उमेर समूहका भने यो वर्ष एक जना पनि थिएनन् । प्रभावितमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकका ९, नुवाकोटका ७, तथा दैलेख र काभ्रेपलाञ्चोकका ५–५ जना थिए ।
बेचविखनमा पर्नेमा सबैभन्दा बढी तामाङ समुदायबाट ३१ प्रतिशत तथा ब्राम्हण र क्षत्री समुदायबाट २० प्रतिशत र दलितबाट १७ प्रतिशत थिए । यसैगरी मधेशी समुदायबाट ८ प्रतिशत, राई समुदायबाट ९ प्रतिशत, मगर समुदायबाट ६ प्रतिशत तथा मुस्लिम, शेर्पा र चौधरी समुदायबाट ३–३ प्रतिशत प्रभावित भएका प्रतिवेदनमा समावेश गरिएको छ । अध्ययनमा ‘गोरखापत्र’, ‘कान्तिपुर’, ‘अन्नपूर्ण पोष्ट’, ‘नागरिक’, ‘नयाँ पत्रिका’, ‘राजधानी’ र ‘नेपाल समाचारपत्र’ तथा अंग्रेजी दैनिक ‘दि हिमालयन टाइम्स’ र ‘दि काठमाण्डु पोष्ट’ तथा साप्ताहिक ‘नेपाल’ र ‘नारी’ मासिकमा छापिएका बेचविखनसँग सम्बन्धित २२७ समाचार प्रकाशित भएका थिए ।
वैदेशिक रोजगारीका आडमा हुने मानव बेचविखन रोक्न सुझाव
वैदेशिक रोजगारीका आडमा मानव बेचविखन हुने क्रम अत्यधिक रहेकाले तीनै तहका सरकारलाई गम्भीरताका साथ नीति निर्माण गर्न सुझाव दिएको छ । प्रतिवेदनले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरी वैदेशिक रोजगारीको आडमा हुने मानव बेचविखनमा संलग्नलाई कारबाही गर्ने प्रावधान राख्न सुझाव दिएको छ ।
मानव बेचविखनमा संलग्नलाई कडा कारबाहीको व्यवस्था नभए यौनशोषण वा श्रमशोषणका लागि दलालले वैदेशिक रोजगारीको आवरण लगाएर मानव बेचविखन तथा ओसारपसार जारी राख्ने प्रतिवेदनमा औँल्याइएको छ । प्रतिवेदनमा महिलालाई घरेलु कामदारका रुपमा खाडी मुलुकमा जान रोक लगाइएपनि जानेक्रम नरोकिएको भन्दै तत्कालै ठोस निर्णय लिन सरकारलाई आग्रह गरिएको छ । प्रतिवेदनमा प्रदेश तथा स्थानीय सरकारले पनि मानव बेचविखन न्यूनीकरण गर्न सचेतना फैलाउनुपर्ने सुझाव दिइएको छ ।