Logo

नेपाल मेडिसिटीद्वारा जनकपुरमा सयभन्दा बढि महिलाको पाठेघरको जाँच सम्पन्न



ललितपुर, २२ मंसिर । जनकपुरमा आयोजना गरिएको ‘वाउ फेस्टिभल’ को मेडिकल पार्टनरका रुपमा नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले मिथिलाका महिलाहरुको पाठेघरको जाँच गरेको छ ।

मंसिर २० र २१ मा आयोजना गरिएको ‘वाउ’ अर्थात विश्वका महिलाहरु नाम दिइएको फेस्टिभलमा स्वास्थ्य संगै विभिन्न विधामा अन्तरक्रिया, विचार गोष्ठी, सडक नाटकसमेत प्रस्तुत गरिएको थियो ।

नेपाल मेडिसिटीको मोबाइल क्लिनिक सहितको चिकित्सकीय टोलीले महिलाहरुलाई स्तन क्यान्सर, पाठेघर तथा आंग खस्ने समस्या र पाठेघरको मुखको क्यान्सरबारे मैथिली भाषामा जनचेतनामूलक समाग्री प्रस्तुत गरेको थियो ।

अस्पतालले जारी गरेको विज्ञप्तीअनुसार उक्त शिविरमा करिब १०० महिलाहरुको पाठेघरको मुख जाँच गरी क्यान्सरको लक्षण रहेको या नरहेको भन्नेबारे परिक्षण गरिएकोमा केहीमा क्यान्सरको सम्भावना देखिएको मेडिकल टिमको प्रतिक्रिया रहेको छ ।

नजिकको अस्पतालमा थप जाँचका लागि परामर्श गरिएको नेपाल मेडिसिटी अस्पतालको स्त्री तथा प्रसुति रोग विभागकि डा. यास्मिन पर्वीनले बताएकी छिन् । उनकाअनुसार आफ्नो स्वास्थ्यका बारेमा महिलाहरु पहिलेभन्दा धेरै सजग रहेको र जाँचको लागि राम्रो संख्यामा उपस्थित् भएका छन् ।

नेपाल मेडिसिटी अस्पतालले देशका विभिन्न स्थानमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै निःशुल्क परामर्श शिविरहरुको आयोजना गर्दै आएको छ । विभिन्न स्थानीय निकाय तथा अन्य संस्था एवं स्थानीयहरुसंगको सहकार्यमा यस किसिमको शिविर आयोजना गर्दै जाने इच्छा राखेको अस्पतालका महाप्रबन्धक विजय रिमालले विश्वास दिलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot