Logo

सागमा नेपाल पावर हाउस भैसक्यो, अबको टार्गेट एशियन, ओलम्पिक र विश्वकप : सदस्य सचिव सिलवाल (भिडियोसहित)



‘सागको सम्पूर्ण खर्च विवरण ९० दिनअघि नै सार्वजनिक गर्छु’
‘खेलाडीहरुको लागि पुरस्कारको स्पेशल प्याकेज घोषणा गर्नपनि सकिन्छ’
काठमाडौं, २६ मंसिर । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले आफू परिषदमा आएको छोटो अवधिमा नै धेरै महत्वपूर्ण काम गरेको सुनाउँदै पहिलो काम नै १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न गर्छु भनेर घोषणा गरेको स्मरण गराए । उनले भने,‘म परिषदमा आएको साँढे चार महिना भएको छ, म आउनेबित्तिकै सबैभन्दा पहिलो घोषणा र मेरो ध्यान नै साग गेम निर्धारित मितिमै गराउँछु भनेर बोलेको थिएँ । त्यसको लागि पूर्वाधार निर्माणमा सुरुदेखि नै ध्यान दिएको थिएँ । सबैको साथ र सहयोगले हामीले सफल रुपमा १३औं साग सम्पन्न गर्यौं । यो हामी सबैको लागि खुशीको कुरा हो ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सागको लागि चाहिने आवश्यक पूर्वाधार निर्माणको लागि आफूले पहिलो पहलकदमी लिएको पनि सुनाए । उनले भने,‘केही पूर्वाधार पहिल्यै बनिसकेका थिए । म आएपछि धेरै पूर्वाधार बनायौं । पोखराको रंगशालाको सवालमा पनि मैले प्राकृतिक ग्रासमा जोड दिएँ । १६ हजार ५ सय क्षमताको रंगशालाई विस्तार गरेर २० हजार क्षमताको बनाईयो । त्यहीअनुरुप काम गर्यौं । यो सागमा मात्रै हामीले १३ हजार सिट जडान गर्यौं । अबको तीन महिनाभित्र हामी यसलाई पूर्णता दिन्छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले वर्षाका कारण पनि पूर्वाधार निर्माणमा केही ढिलाई भएको सुनाए । उनले भने,‘वर्षाले पनि केही ढिलाई भयो । दशैं, तिहार थियो, त्यसले पनि केही असर गर्यो । यो बीचमा चिनियाँ राष्ट्रपति र बंगलादेशका राष्ट्रपतिको भ्रमण भयो । त्यसले पनि पूर्वाधार निर्माणको काममा ११, १२ दिन ढिला भयो ।’

सिलवालले साग सुरु हुनुभन्दा पहिल्यै नै आफूले नेपालले कम्तिमा पनि ५० स्वर्ण पदक जित्छ भनेर घोषणा गर्दा सुरुमा कसैले पनि नपत्याएको र आशंका गरेको सुनाए । उनले भने,‘हामीले गरेको लक्ष्यमा आशंका गरियो, यो स्वभाविकपनि थियो । किनकी १२ औं सागमा नेपालले जम्मा तीन स्वर्ण जितेको थियो । यो पटक हामीले राम्रो तयारी गरेका थियौं । खेलाडी, प्रशिक्षकलाई हामीले असार मसान्तबाट क्लोज्ड–क्याम्पमा राखेका थियौं ।’ सागको लागि आफूलाई असोज ६ गतेमात्रै कार्यविधि प्राप्त भएपनि अन्य बजेट र ऋणपान गरेर भएपनि प्रशिक्षणको काम अघि बढाएको उनले सुनाए ।

आफूहरुले विभिन्न २१ खेलको विदेशमा प्रशिक्षण गराएको पनि सिलवालले सुनाए । उनले भने,‘खेलाडीहरु पनि उत्साहित थिए । उनीहरुमा उमंग थियो । हामीले प्राक्टिसमात्रै गराएनौं, उनीहरुलाई विभिन्न प्रतिष्पर्धामा पनि उतारेका थियौं । एक खेलाडीले कम्तिमा पनि तीन प्रतिष्पर्धामा भाग लिएका थिए ।’ उनकाअनुसार ८औं सागमा नेपालले ३१ स्वर्ण जितेपनि २८ वटा स्वर्ण कराँते र ताईक्वान्दोबाट प्राप्त भएको थियो । नेपाली जनताको आर्शिवादको कारणले १३औं सागमा यो परीणाम हाँसिल गर्न सफल भएको उनको भनाई छ ।

सिलवालले सागको उद्धघाटन समारोह कस्तो होला ? भनेर पनि आम जनतामा चासो र कौतुहलता थियो भन्दै थपे,‘दशरथ रंगशाला निर्माणाधिन थियो । हामीले सशस्त्र, नेपाली सेना, नेपाल प्रहरी र विभिन्न स्कुलमा तयारी गरेका थियौं । उद्घाटनपनि राम्रै भयो ।’ उनले सागको व्यवस्थापनको सवालमा झिनामसिना अवस्थाबाहेक सबैमा सफल भएको पनि दाबी गरे ।

खेलाडीहरुले यसअघिका प्रतियोगितामा होटलको बारेमा विभिन्न गुनासोहरु पोख्ने गरेकोमा योपटक कुनै गुनासो नआएको उनले जिकिर गरे । उनले भने,‘नेपाली खेलाडीहरुलाई हामीले चारतारे र पाँचतारे होटलमा राख्यौं । उनीहरु खुशी थिए । यसले खेलाडीमा पनि उच्च मनोवल थपिएको थियो । खेलाडीहरुलाई मोटिभेशनल क्लास गर्यौं । एन्टी डपिङबारे क्लास दियौं ।’

उनले आफूहरुले यसअघिका स्वर्णपदक, रजत, कास्य पदक विजेता नेपाली खेलाडीहरुसँग पनि प्रतिष्पर्धी खेलाडीहरुसँग अन्तरक्रिया गराएको पनि सुनाए । उनले भने,‘रोलमोडल खेलाडी र विज्ञहरुसँग खेलाडीहरुसँग अनुभव आदानप्रदान गरायौं । उनीहरुलाई गीत–संगितको माध्यमबाट रिफ्रेश गरायौं ।’ सिलवालले खेलाडीहरुको लागि आफूहरुले डाईटिसियन र न्यूट्रिसियनपनि राखेको सुनाए । ‘खेलाडीहरुको लागि सन्तुलित भोजनको पनि व्यवस्थापन गरेका थियौं ।’ उनले साग समापन नहुञ्जेलसम्म कुनैपनि विवाद नआओस भनेर आफूले कडा निर्देशन दिएकोले सबै एक भएर प्रतियोगिता सफल बनाउन लागेको पनि स्मरण गराए ।

उनले १३औं सागमा हासिल गरेको परीणाम नेपालको ईतिहासमै अहिलेसम्मकै सबैभन्दा बढि पदक हासिल गर्न सफल भएको सुनाउँदै यसलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिनुपर्ने चित्रण गरे । उनले भने,‘हामीले सबै खेललाई उत्तिकै महत्व दियौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुको लागि हिजो नगद पुरस्कार पनि घोषणा गरेको जनाउँदै उनले स्वर्ण जित्नेलाई ९ लाख, रजत पदक विजेतलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख दिने बताए । उनले भने,‘टिम ईभेन्टमा स्वर्ण जित्नेलाई जनही ५ लाख दिने भनेका छौं । यो रकम कम भयो भन्नेपनि कुरा सुनियो । फुटबलको कुरा गर्दा २३ जनालाई जनही ५ लाखको दरले दिँदा एक करोड १५ लाख हुन्छ ।’ उनले ग्रुप र ईण्डिभिज्युलको लागि स्पेशल प्याकेजपनि घोषणा गर्नसकिने विश्वास दिलाए ।

यद्धपी उनले सरकारले खेलाडीहरुको लागि घोषणा गरेको पुरस्कार विगतको भन्दा दोब्बर भएको पनि स्पष्ट पारे । उनले भने,‘हामीले हिजोको भन्दा दोब्बर पुरस्कार दिने घोषणा गरेका छौं । यसलाई कम भन्न मिल्दैन् । प्रधानमन्त्रीज्यूले पनि यो पुरस्कारलाई यत्तिकैमा सिमित गरिँदैन् भन्नुभएको छ । पुरस्कारको राशीलाई बढोत्तरी गर्ने भन्नुभएको छ । यो सुरुवात हो, अन्तिम होईन् । अब खेलाडीले पनि ध्यान दिनुपर्छ ।’

नेपालको खेलकुद जगतको वृद्धिविकासको लागि आफूहरु योजनासहित अघि बढ्न लागेको सिलवालले बताए । उनले भने,‘उद्यमी, व्यवसायी, नेपाल उद्योग बाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ, बैंकर्स एशोसिएन, प्याब्सन, एनप्याब्सन, हिसानसँग अब सहकार्य गरेर अघि बढ्छौं ।’ बैंकहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत खेलकुदमा लगानी गर्नुपर्नेगरि आफूले प्रस्ताव गरेको सिलवालले सुनाए । उनले भने,‘उहाँहरुबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ ।’
सिलवालले आफूहरुको अबको ध्यान भनेको १४औं साग प्रतियोगिता, ओलम्पिक गेम, एशियन गेम हुँदै विश्व कपसम्म रहेको सुनाउँदै यसप्रति आफूहरु जिम्मेवार र गम्भिर भएर लाग्ने बताए । उनले भने,‘दक्षिण एशियाली खेलकुदमा त हामी पावर हासउको रुपमा उदायौं । अब एशियन गेम हुँदै विश्वकपसम्म हुनेछ । त्यहीअनुसारको प्रशिक्षण र तयारी गर्छौं ।’

सिलवालले आफूले नेपालमा भएका सबै संघ तथा संस्थाहरुलाई यसअघि गरेका काम र अब गर्ने योजनासहित निर्देशन दिएको पनि सुनाए । उनकाअनुसार नेपालमा १ सय ५६ वटा संघ–संस्थाहरु छन् । उनले भने,‘मैले तीनपटक पत्र काटिसकें । तीन वर्ष अघिको कामको उपलब्धि र अब यो वर्षको उद्देश्य राखेर जवाफ पठाउन भनेको थिएँ । तर, अहिलेसम्म ७० वटा संघ–संस्थाले मात्रै जवाफ फर्काए, बाँकी ८६ वटाले अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । मैले अन्तिम चेतावनी दिएको छु । अब पनि कुनै जवाफ नआए, म विकल्पमा लाग्छु । क्रियाशिल नभएका संघलाई क्रियाशिल बनाउछु । यदि क्रियाशिल नभए नयाँ संघ बनाएर गति दिन्छु ।’

नेपालको खुलकुद क्षेत्रले क्रमिक रुपमा सुधार र छलाङ गर्दै अघि बढेको पनि उनले सुनाए । उनले भने,‘खेललाई उत्पादनशील क्षेत्रको रुपमा अघि बढाउँछौं । फुटबलको कुरा गर्दा अब हामी लिग खेल सुरु गर्दैछौं । यही २८ गतेबाट लिग सुरु गर्छौं । क्रिकेट, भलिवलको पनि लिग खेलाउँछौं । व्यवसायिक घरानासँग लिगको लागि कुरा राखेका छौं । खेलाडीहरुको जीवनस्तर उकास्ने र वृद्धि गर्नेगरि हामी अघि बढ्छौं ।’ खेलमै लागेको कारण खेलाडीहरुलाई अभिभावकले बिग्रिए भन्ने वातावरणको अब अन्त्य हुनेपनि उनले घोषणा गरे ।

उनले खेलाडीहरु अब ग्रास–रुटबाटै उत्पादन गरिने पनि जानकारी दिए । उनले भने,‘यसको लागि पुसको अन्तिमबाट हामीले १६ वर्ष मुनिको राष्ट्रपति र उपराष्ट्रपति कपको आयोजना गर्दैछौं । जिल्ला, प्रदेश हुँदै संघमा खेलाडी ल्याउँछौं । त्यसपछि राम्रो खेलाडीलाई चयन गर्नको लागि ‘ट्यालेन्ट–हन्ट’को पनि आयोजना गर्छौं ।’ त्यतिमात्रै नभएर उनले खेलाडीहरुको अब रजिष्ट्रेशनपनि गरिने बताए । उनले भने,‘उनीहरुको सिभी, बायोडाटा अनलाईनमार्फत नै हेर्न मिल्नेगरि राखिन्छ ।’ त्यस्तै, उनले खेलाडी, प्रशिक्षक तथा खेलसम्बद्ध व्यक्तिहरुको सुविधाको लागि दरशथ रंगशाला परिसमा सुविधासम्पन्न ‘फिजिकल–सेन्टर’ बनाईने महत्वकांक्षी घोषणा गरे । उनले भने,‘हामीले बनाउने फिजिकल सेन्टरमा साउना, जाकुजी, जुम्बा, आईस सेन्टरसम्मको सुविधा प्रदान गर्छौं ।’

त्यस्तै, उनले अहिले रहेको हेल्थ–सेन्टरमा ५ करोडको अत्यावाश्यक आधुनिक उपकरण तथा सामाग्री भित्र्याएको पनि जनाए । उनले भने,‘यसले उपचारको लागि राम्रो व्यवस्थापन गर्छ । खेलाडी, प्रशिक्षक र खेलपत्रकारहरुलाई विशेष सुविधा दिनेछौं । कतिपयलाई निशुल्क र कतिपयलाई अत्यधिक कममा सेवा दिन्छौं ।’ आगामी एक वर्षभित्र खेलकुदको आफ्नै बुलेटिन निकाल्ने र खेलसम्बन्धी कार्यक्रम एफ.एम र टिभीबाट प्रशारण गरिने पनि उनले जनाए ।

आगामी चार वर्षभित्र ७ वटै प्रदशेमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउनेपनि उनले घोषणा गरे । उनले भने,‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनबाट गण्डकी प्रदेशमा आयोजना गर्दैछौं । तीन महिना अघि नै न्यूनतम आधारभूत संरचना पूरा गरिसक्छौं ।’ उनले आफूले कर्मचारीको स्थायित्व, सुशासन र पारदर्शीता अपनाउने पनि बताए ।

उनले सागमा भएको सम्पूर्ण खर्चको हिसाबकिताब आफूले ९० दिनभित्र सबै बाहिर ल्याउँछु भनेर सार्वजनिक प्रतिबद्धता जनाईसकेको बताउँदै त्यो भन्दा पहिले नै सार्वजनिक गर्ने बताए । उनले भने,‘सबै हिसाबकिताब म तपाईहरुलाई जानकारी गराउँछु ।’ सागमा पदक जित्ने खेलाडीहरुलाई भोलि विहान ११ बजे दशरथ रंगशालाबाट नगरपरिक्रमा गराउने पनि सिलवालले जानकारी दिए । उनले पदकधारीले कसले कति पुरस्कार पाउने भनेर सोधिएको सवालमा भने,‘एक स्वर्ण जित्नेले ९ लाख पाउनुहुन्छ । र, एकभन्दा बढि स्वर्ण जित्नेले ११ लाखको दरले पाउनुहुन्छ । गौरिका सिंहले ११ लाखको दरले करिब ५९ लाख पाउनुहुन्छ । यसमा द्धिविधा हुनुपर्ने विषय छैन् ।’



प्रतिक्रिया दिनुहोस्