Logo

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग



चितवन, २८ मङ्सिर : भरतपुर महानगरपालिका–१५ रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग आउने क्रम बढेको छ । विभिन्न अवसर पारी व्यक्ति तथा संस्थाले सहयोग गरिरहेका छन् । नारायणगढमा रहेको हंस बहुउद्देश्यीय सहकारीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु १० लाख हस्तान्तरण गरेको हो ।

संस्थाको १० औँ वार्षिकोत्सवको अवसर पारी फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले सो रकम हस्तान्तरण गर्नुभएको हो । विस्तृत अध्ययन प्रतिवेदन तयार भएसँगै पछिल्लो समय रङ्गशाला निर्माणले गति लिएको छ । धुर्मुसकै उपस्थितिमा हरेक दिन १६१ कामदार रङ्गशाला निर्माणमा खटिएको फाउण्डेशनले जनाएको छ । फाउण्डेशनका अध्यक्ष कट्टेलले हरेक दिन व्यक्तिगत तथा संस्थागतरुपमा सहयोग आउने क्रम बढेको बताउनुभयो । रङ्गशाला हेर्न आउनेको पनि भीड लाग्न थालेको छ । एकै दिन दुई हजार ५०० सम्म रङ्गशाला टिकट काटेर छिर्ने गरेका छन् ।

फाउण्डेशनको अगुवाइमा रु दुई अर्ब ५० करोड हाराहारी खर्च गरेर रङ्गशाला बनाउन लागिएको हो । हालसम्म रङ्गशाला निर्माणका लागि रु चार करोडभन्दा बढी रकम सङ्कलन भएको फाउण्डेशनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot