Logo

काठमाडौँ महानगरलाई सडक मानवमुक्त गरिँदै



काठमाडौँ, २९ मंसिर । काठमाडौँ महानगरपालिकालाई सडक मानवमुक्त गरिने भएको छ । महानगरपालिकाले आफ्नो वार्षिकोत्सव ९२५ औँ महानगर दिवस मनाउने क्रममा आइतबार विशेष कार्यक्रम मार्फत महानगरलाई ‘सडक मानवमुक्त महानगर’ घोषणा गर्न लागेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले सडक मानवमुक्त महानगर घोषणा गर्न थालिएको बताएको छ ।

महानगरलाई सडक मानवमुक्त बनाउन मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र महानगर प्रहरीको साथ रहेको शाक्यले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६÷२०७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने अभिव्यक्ति दिएका थिइ । “गरिबीको मनोविज्ञान हटाई आत्मविश्वास जागृत गरिनेछ,” नीति तथा कार्यक्रमको सम्बोधनमा राष्ट्रपति भण्डारीले भने, “मौलिक हकको कार्यान्वयनबाट सबै नागरिकलाई शिक्षा, स्वास्थ्य, खाद्यान्न, रोजगारीको व्यवस्था गरी निरपेक्ष गरिबी अन्त्य गरिनेछ । अब नेपालमा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन । ” यही भावमा सरकारको बजेटमा पनि सडक मानव व्यवस्थापन गर्न सरकारले आवश्यक पहल गर्ने जिम्मा लिएको उल्लेख गरेको छ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १२ गते भक्तपुरमा मानव सेवा आश्रमको उद्घाटन गर्दै सडक मानवमुक्त गर्न केही दिऊँ पाऊँ भन्नेको कमी नरहेको सुनाएका थिए ।

“समृद्ध नेपाल, सुखी नेपाली बनाउने हाम्रो राष्ट्रिय आकाङ्क्षा जे छ त्यस काममा विभिन्न ढङ्गले समर्पित छ, त्यो यहाँ आश्रममा देखिएको छ,” प्रधानमन्त्री ओलीले भने, “यो तपाईंहरूले अभियान चलाएको छ, राज्यबाट सञ्चान गरियो भने यसरी जान सक्दैन । ” आफूले समृद्ध नेपालको कुरा गर्दा विकास र समृद्धिको मात्र कुरा नगरेको भन्दै उनले समृद्धि भए पनि सभ्यता भएन भने समाज असुरक्षित हुने उल्लेख गरेका थिए । सडकमा कोही बेसहारा, असहाय छोडिन नपरोस् र सबैको व्यवस्थापन सरकारले गर्ने घोषणा नै गरेको सम्झाएका थिए । प्रधानमन्त्री ओलीकोे त्यो उद्घोषको एक महिनाभित्रै भरतपुर महानगरपालिकाले सडक मानवमुक्त पहिलो महानगरको घोषणा कात्तिक ९ गते गर्न सफल बन्यो । त्यसअघि मकवानपुर जिल्ला सडक मानवमुक्त घोषित भएको थियो । काठमाडौँमा भने चिसो रातमा पातला बोरा र बर्कोले आङ छापेको भरमा एक पहर निदाउन पाउँदा ठूलै भाग्य ठान्नेहरू प्रशस्त भेटिन्छन् । कालीमाटी तरकारी बजार अघिल्तिरको सडकमा सुत्ने करिब ५० जना यसैगरी खुला आकाशमुनि बोराका भरमा रात काट्छन् । “तरकारी बजारमा भारी बोक्छु”, गोपाल थामीले भने, “बस्ने ठाउँ छैन, कता जानु, त्यसैले यहीँ सुत्छु । ” मुस्किलले टाउको छोपिने सेता बोरा ओढेर उहाँ सडकछेउको चिसो बरण्डामा हरेक रात ढल्कनुहुन्छ ।

उदयपुरका किरण मगर एक जना अर्को सहकर्मीसँग बोराभित्र साथमै न्यानो बन्ने प्रयास गर्नु हुँदैछ । गोँगबु बसपार्कको छेउको विष्णुुमती करिडोरमा भारतीय मूलका १२ परिवार यसरी खुला आकाशमुनि रात बिताउने गरेका छन् । गर्भवती, बालबालिकासमेत त्यो समूहका छन् । पुरुषहरू दिउँसो व्यापार गर्ने र महिला बालबालिका सडकमा माग्ने पुरुष समूह प्लास्टिकका भाँडावर्तन बेच्न हिँड्छन् । सोह्रखुट्टेमा इलामका अधबैँसे जोडी प्रतीक्षालयको आडमा त्रिपालभित्र निदाउँछन् । पशुपति मन्दिर, सम्पदाक्षेत्र, स्वयम्भू र शोभा भगवती आसपासका मन्दिर र खुला स्थानमा जीवन बिताउने बढ्दैछन् ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot