काठमाडौँ, १ पुस । तिम्रो श्रीमान्लाई मेरै आँखा अगाडि गाडीले हान्यो । प्रहरीले अस्पताल लिएर गएको छ’ भनेर ०७२ पुस २ मा साउदी अरबबाट पूजा गुरुङलाई फोन आयो । फोन गर्ने पूजाका श्रीमान् गणेश गुरुङका साथी थिए । उनले फोनमा भनेका थिए, ‘गणेशलाई कुन अस्पतालमा लगिएको छ भन्ने हामीलाई थाहा छैन ।’
मलेसियाको डिपोर्टेसन सेन्टरमा रहेका उदयपुरका सोमबहादुर तामाङ । १० वर्षअघि मलेसिया गएका श्रीमान् शुक्रे राईको तस्बिर देखाउँदै सिन्धुली, छापामारी खोलाकी सरिता राई । ०७२ पुसमा साउदी अरब गएका गोरखाका गणेश गुरुङ र उनको खोजीमा रहेकी पत्नी पूजा । गण्डकी गाउँपालिका–५, केराबारीका २७ वर्षीय गणेश ०७२ जेठ ४ मा साउदी गएका थिए । त्यहाँको रियादस्थित महरा कम्पनीमा म्यानपावरले ८ सय रियाल तलब पाउने गरी उनलाई पठाएको थियो । महरा कम्पनीले एउटा होटलमा वेटरको काममा पठाएको थियो । तर, ५ महिनामै कम्पनी छाडेर उनी ‘इलिगल’ बनेका थिए । गणेशका बारेमा सूचना दिने ती व्यक्ति सम्पर्कमा छैनन् । काखे बच्चा लिएर पूजा त्यो दिनदेखि गणेशको हालखबर बुझ्न सम्बन्धित निकायलाई गुहारिन् । परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा हप्तैपिच्छे पुगिन् । वैदेशिक रोजगार विभाग गइन् । नेपाली दूतावासलाई बारम्बार फोन गरिरहिन् । तर, अहिलेसम्म कतैबाट केही खबर आएको छैन ।
उनी श्रीमान्को खोजीका लागि भौंतारिएको चार वर्ष भइसक्यो । ‘मेरो श्रीमान् जिउँदै छन् कि मरे, केही थाहा छैन । यसबारे कसैले जवाफ दिएको छैन,’ उनले भनिन् । उनका धेरै आफन्त साउदी अरबमा कार्यरत छन् । ‘कमसेकम कुन अस्पतालमा उपचार गरिएको हो भन्नेमात्रै थाहा पाउन पाए पनि हुन्थ्यो,’ उनले भनिन्, ‘त्यो अस्पतालमा बुझ्न आफन्तलाई पठाउन हुन्थ्यो ।’ सूचना दिने पनि कम्पनी छाडेर अवैध रूपमा बस्दै आएका कामदारका सुपरभाइजर थिए । उनले भागेर काम गर्ने कम्पनी पनि बताएनन् । ‘अहिले म एउटा होटलमा काम गरिरहेको छु । मसँग ७ वर्षको छोरा छ । दुस्ख गरी छोरालाई हुर्काइरहेकी छु,’ २८ वर्षीया पूजाले भनिन्, ‘श्रीमान्को सही सूचना नपाउँदा एकदमै मानसिक तनाव ब्यहोरिरहेको छु ।’ छापामारी खोला, सिन्धुलीका ३८ वर्षीया सरिता राईका ३९ वर्षीय श्रीमान् शुक्रे राई मलेसिया गएको १० वर्ष पुग्दै छ । शुक्रे मलेसिया टेकेदेखि नै नेपाल फर्किएका छैनन् । उतै फिलिपिनो युवती लिएर बसेका छन् । शुक्रे पछिल्लो एक वर्षदेखि परिवारको सम्पर्कमा छैनन् । अन्तिमचोटि शुक्रेसँग सरिताको दुई घण्टा भिडियो संवाद भएको थियो । त्यो दिन शुक्रे रोएका थिए । आफूले जंगलमा निकै दुस्ख पाएको र आफूले काम गर्ने ठाउँ भिडियोमा देखाएका थिए । ‘मलाई यहाँबाट निकाली दे । म नेपाल आउन चाहन्छु । तिमीहरूको निकै माया लाग्छ भन्नुभएको थियो,’ सरिताले भनिन्, ‘त्यसरी नेपाल आउने सपना हामीलाई देखाएका थिए । तर, उनी आफैं हराए ।’
कान्तिपुर दैनिकबाट