Logo

नेपाल भ्रमण वर्ष सुरु हुन १२ दिन बाँकी, कस्तो छ तयारी ?



काठमाण्डौ । नेपाल भ्रमण वर्ष सुरु हुन १२ दिन मात्र बाँकी रहेको छ । भ्रमण बर्ष सफल बनाउन निकै ठूलो चुनौती देखिन्छ । पूर्वाधार विकास र प्रचार प्रसारमा अपेक्षित ढङ्गबाट काम हुन सकेको छैन । तर अपेक्षित सख्यामा पर्यटकहरूलाई भित्र्याउन सकिने दावी सरकारी अधिकारीहरूले गर्दैै आएका छन् । पर्यटन व्यवसायीहरुले आफ्नो तर्फबाट राम्रो तयारी गरे पनि सरकारको तयारी भने पर्याप्त नभएको आरोप लगाएका छन् ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षको पूर्व सन्ध्यामा सबै भन्दा पेचिलो विषय मुख्य पर्यटकीय गन्तव्यहरूमा पर्याप्त पूर्वाधार नै छैन । सबैभन्दा महत्वपूर्ण मानिने एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल पनि पूर्ण तयारी अवस्थामा छैन । काठमाण्डौंका बाटाघाटा समेत व्यवस्थित बन्न सकेका छैनन् । प्रदूषण र ट्राफिक व्यवस्थापनमा समस्या त छँदै छन ।

पर्यटक बस्ने र खाने होटल क्षेत्र भने तयारी अवस्थामा रहेको व्यवसायीहरु बताउँछन् । पर्यटकलाई लक्षित गरि काठमाण्डौं मात्रै करिब आधा दर्जन ठुला लगानीका होटेल सञ्चालनमा आएका छन् । काठमाडौंमा मात्रै २० लाख पर्यटक धान्न सक्ने होटलहरु रहेको व्यवसायीको दावी छ ।

होमस्टे, बेड एन्ड ब्रेकफास्ट उपलब्ध गराउने होटेलदेखि तारे होटेल सबैको सख्यामा वृद्धि रहेको व्यवसायीहरुको दावी छ । काठमाण्डौं बाहेक पोखरा र चितवनमा होटलहरुको सख्यामा वृद्धि भएको होटल व्यवसायीहरु बताउँछन् । नेपालमा हाल १३० देखि १४० डलर सम्ममा पाँच तारे होटेल र करिब ६० डलरको हाराहारीमा तीन तारे होटेल उपलब्ध हुने व्यवसायीहरू बताउँछन् ।

होटल बाहेक मुख्य मुख्य स्थानमा रहेका सम्पदाहरूको पुनर्निर्माण सम्पन्न भने नभएको व्यवसायीहरुको बताउँछन् । नेपाललाई दुवै खाले पर्यटकको आवश्यकता रहेको व्यवसायीहरु बताउँदै आएका छन । हरेक एक जना पर्यटक नेपाल आउँदा ११ जनाले रोजगारी पाउने व्यवसायीहरुको दावी छ । यसअर्थमा यदी सरकारले लिएको लक्ष्यअनुसार २० लाख पर्यटक नेपाल आएको खण्डमा कूल २ करोड २० लाख जनाले रोजगारी पाउने देखिन्छ ।

सरकारलाई २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यलाई भेट्न दैनिक साढे पाँच हजार पर्यटक नेपाल भित्र्याउनु पर्नेछ । नेपालमा आर्थिक बर्ष २०७५–७६ मा १२ लाख पर्यटक मात्रै नेपाल भित्रिएका थिए । गत आर्थिक बर्षमा दैनिक ३ हजार २ सय पर्यटक नेपालमा आएको तथ्यांक पर्यटन बोर्डसँग छ । तर, २०२० मा २० लाख पर्यटन भित्र्याउने सरकारको लक्ष्यअनुसार तयारी भएको देखिदैन ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot