काठमाडौं, ५ पौष । बिष्णुडोल खानेपानी आयोजनालाई छ आना जग्गा हस्तान्तरण गरिएको छ । शनिबार एक कार्यक्रमबीच श्रीमद्भागवत महापुराणबाट संकलित रकमबाट खरिद गरिएको जग्गा हस्तान्तरण गरिएको हो ।
५२ लाख रुपैयाँ मूल्यमा खरिद गरिएको जग्गा श्रीमदभागवत् महापुराण विराट सप्ताह ज्ञान धनधान्याचल महायज्ञ आयोजना कमिििटका तर्फबाट आयोजक समितिका अध्यक्ष कुवेर केसीले विष्णुडोल खानेपानी आयोजना खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण कार्कीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएको जग्गा खानेपानीको क्षमता अभिवृद्धिका लागि प्रयोग गरिने अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिए ।
जग्गा तथा लालपूर्जा हस्तान्तरण कार्यक्रममा महायज्ञ आयोजक कमिटिका अध्यक्ष केसीसहित सचिव विवेककुमार कार्की,सदस्यहरु रविन खत्री, प्रविन खत्री, देवचन्द्र खत्री, विनोद केसी, देवराज केसी, विनोद कार्की, दीपेश केसी, किशोर खड्कालगायत उपस्थित थिए । खानेपानी आयोजना तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण कार्कीसहित पदाधिकारीहरु उपाध्यक्ष सरिता केसी, सचिव सहकुल खत्री, कोषाध्यक्ष इन्द्रबहादुर खत्री, सदस्यहरु प्रल्हाद बिष्ट, कृष्णराम परियारका अलावा महेश बिष्ट, बालमुकुन्द केसी, भीमसेन खत्री, राम बस्नेतलगायत उपस्थित थिए ।
गत वर्ष महायज्ञबाट संकलित रकम श्रावण महिनामा जग्गा खरिद गरिएको जनाइएको छ । जग्गा तथा लालपूर्जा हस्तान्तरण गर्दै महायज्ञ आयोजक कमिटिका अध्यक्ष कुवेर केसीले सहयोगी दाताहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गरे । खानेपानी जस्तो पवित्र कार्यमा सहयोग गरिएको रकमको सही सदुपयोग गरिएकोमा खुशी व्यक्त गरे । कमिटिका सचिव विवेककुमार कार्कीले महायज्ञ जस्तो धार्मिक कार्यबाट संकलित रकमबाट खरिद गरी हस्तान्तरण गरिएको जग्गा दुरगामी महत्वको आयोजनाका लागि प्रयोगमा आउने आशा व्यक्त गरे । सबै मिलेर सत्कर्ममा लाग्दा सफलता हासिल हुने उदाहरण प्रस्तुत भएको बताए ।
यसअघि खानेपानी आयोजनाको आठौं वार्षिक साधारण सभा भएको थियो । साधारण सभामा सचिव सहकुल खत्रीले वार्षिक कार्यपत्र प्रस्तुत गरेका थिए । साधारणसभाले वार्षिक प्रतिवेदन पारित गरेको छ ।
२०७५ साल पौडा महिनामा आयोजना भएको महायज्ञको उद्घाटन पूर्व राष्ट्रपति डा. रामवरण यादवले गरेका थिए । महायज्ञमा देशको विशिष्ट पदमा पुगेका व्यक्तित्व देखि दाताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।