परासी, ७ पुस : राष्ट्रिय समाचार समिति (रासस) का जिल्ला समाचारदाता मोहन पौडेलसहित पश्चिम नवलपरासी र रुपन्देहीका तीनजान सञ्चारकर्मी तथा एक सञ्चारगृहलाई यस वर्षको ‘सशक्तीकरण सम्मान’ प्रदान गरिएको छ ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक दिवसको अवसरमा सशक्तीकरण नेपाल नवलपरासीद्वारा आइतबार परासीमा आयोजित कार्यक्रममा समाचारदाता पौडेल, रुपन्देहीका सञ्चारकर्मीद्वय रीमा बिसी र झविन्द्र देवकोटा तथा रेडियो परासी, परासीलाई सो सम्मान प्रदान गरियो ।
रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताले सम्मान गर्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका आवाज सञ्चारमाध्यममार्फत उजागर गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने चर्चा गरे ।
सशक्तीकरण नेपालका अध्यक्ष आनिक रानाले भने, “पत्रकार र सञ्चारमाध्यमबाट हाम्रा आवाज जनसमुदाय समक्ष पुग्न थालेपछि हामीलाई समाजमा खुल्न सहज भएको छ । हाम्रो बारेमा रहेको नकरात्मक बुझाई परिवर्तन भई सकरात्मक बुझाई हुन थालेको छ । ”
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आफ्नो पहिचानअनुसारको नागरिकता, रोजगारीलगायतमा समस्या रहेको बताउँदै अधिकारकर्मी पुष्पा लामाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको जनगणना गर्नसमेत माग गरे ।रासस