Logo

वर्षाले अलैँची किसान खुसी



काठमाडौँ, ९ पुस । यस वर्ष हिउँदे मौसमको सुरुमै वर्षा भएकाले ताप्लेजुङका अलैँची किसान हर्षित भएका छन् । जिल्लाको हिमाली क्षेत्रमा हिमपातसँगै सबै ठाउँमा वर्षा भएपछि जिल्लाका किसान हर्षित भएका हुन् । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय ताप्लेजुङका अनुसार यसपटक जिल्लामा ३६ मिलिमिटर वर्षा भएको छ ।

जिल्लामा अलैँची खेती प्रमुख नगदेबालीका रूपमा रहेको छ । अधिकांश किसान अलैँची खेतीमा संलग्न रहँदै आएकाले हिउँद मौसमको सुरुमा वर्षा हुँदा अलैँची खेतीलाई राहत पुगेको छ । यस्तै यसपटकको वर्षाले तोरी, गहुँ, जौलगायत हिउँदे बालीका लागिसमेत राहत पुगेको किसान बताउँछन् । ताप्लेजुङको एक नगरपालिकासहित नौ स्थानीय तहका ६१ वटा वडामध्ये ६० वडामा अलैँची खेती गरिन्छ । फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलाबाहेक सबै वडामा खेती गर्ने गरिएको छ । हाल मूल्यका कारणले भने किसान अलैँची खेतीप्रति धेरै सन्तुष्टि नभए पनि वर्षा भएकाले खेतीका लागि राहत मिलेको उनीहरूको भनाइ छ । अहिले तल्लो अर्थात् औल क्षेत्रमा रहेको अलैँची खेतीलाई सबैभन्दा बढी राहत मिलेको सिदिङ्वा गाउँपालिका ४ साब्लाखुका सञ्जय लिम्बूले बताए ।

लिम्बूका अनुसार हिजोआज औलमा अलैँची पूmल खेल्ने समय भएकाले सिँचाइ चाहिने बेलामा वर्षा भएको छ ।
अलैँची खेती जिल्लाको औल क्षेत्र र माथिल्लो अर्थात् लेक क्षेत्रसम्म हुने गरेको छ भने करिब ८५ प्रतिशत किसान अलैँची खेतीमा संलग्न छन् । जिल्लामा व्यापार व्यवसायमा आबद्ध व्यापारी अधिकांशको ठूलो व्यावसायिक कारोबार पनि अलैँचीकै हुने गरेको छ । यहाँ वार्षिक तीन हजार मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको छ । हालसम्मको तथ्याङ्क अनुसार ताप्लेजुङ नेपालकै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्ला पनि हो ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot