Logo

यस्तो छ प्रधानमन्त्रीले आज शिलान्यास गर्ने नारायणी नदीमा बन्न लागेको ‘केबल स्टेट ब्रिज’



काठमाडौं, वैशाख ३१ । चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि बन्न लागेको पुलको शिलान्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन्। पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको सो पुलको आज प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम रहेको हो । यो पुलले पश्चिम नेपाललाई पूर्वी नेपाल तथा काठमाण्डाँसगै जोडने काम गर्छ ।

शिलान्यासकालागि सम्पूर्ण तयारी पुरा भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले जानकारी दिए। अत्याधुनिक प्रविधिमा आधारित सो पुल केबल स्टेट ब्रिजमा आधारित रहेको बताइन्छ । सडक विभागको पुल महाशाखाले पुल निर्माणको काम सुरु गरेको हो । पौडेलका अनुसार एक वर्ष पुलको डिजाइन निर्माण र त्यसपछिको तीन वर्ष पुल निर्माणको अवधि तय गरिएको छ । अहिले भएको नारायणी नदीको पुल भन्दा पूर्व तर्फ सो पुल निर्माण हुने छ । चार सय २० मिटर लामो सो पुलको चौडाइ १२ मिटर रहने छ । बिचमा दुई पिलर रहने सो पुलमा पिलरको बिच भाग २१० मिटर फराकिलो छ । जसमा पानी जहाज समेत सहजै ओहोरदोहोर गर्न सक्ने बताइन्छ ।

पुलको दुई ठाउँमा टावर राखिएका छन् । टावरसँग मिल्ने गरी केवलको माध्यमबाट पुल निर्माण गरिने छ । झन्डै १ अर्ब ६८ करोड रुपियाँ लागतमा निर्माण हुन लागेको सो पुल निर्माणका लागि सन् २०२३ जुन २ मा तुँदी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरिएको छ । सम्झौता अनुसार चार वर्षमा पुल निर्माणको काम सम्पन्न हुनुपर्ने बताइन्छ ।

हाल भएको नारायणीको पुल जीर्ण भएसँगै नयाँ पुल निर्माणको काम सुरु हुन लागेको हो । नारायणी माथि रहेको अहिलेको पुल विसं २०३८ मा बनेको हो । यो पुलमा १४ वटा पिलर छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot