Logo

चालक र यात्रु नै दुर्घटनाका कारक



काठमाडौँ, ११ पुस। निकै गतिका साथ एकान्तकुनाबाट कलङ्कीतर्फ हुइँकिँदै गरेको बसले धोबीघाटको आकाशे पुलमुनि घ्याच्चै ब्रेक लगाउनुप¥यो । बिहीबार बिहान १० बजेको घटना हो यो । विस्तार गरिएको चक्रपथको धोबीघाट–एकान्तकुना खण्डमा आकाशे पुल हुँदाहुँदै पैदल यात्रुले पुलमुनिबाटै बाटो काट्न खोज्दा बा. ५ ख ४३५२ नम्बरको बसका चालकलाई एक्कासि सवारीसाधन नियन्त्रण गर्न हम्मेहम्मे नै प¥यो ।

खाली सडक पाएपछि चालकले गति सीमित गर्दैनन्, जसले गर्दा दुर्घटना निम्तिने गर्दछ । त्यो बसको पछिल्तिर गुडिरहेका अन्य सवारीसाधनहरूलाई उक्साउने गरी ‘सक्छस् भने ओभरटेक गर, सक्दैनस् भने रिस नगर’ भनेरै लेखिएको थियो । अन्य गाडीलाई ओभरटेक गर्दै गुडिरहेको त्यो बसले सानेपा पुग्दा एउटा मोटरसाइकलका कारण पुनः राम्रैसँग ब्रेक लगाउनुप¥यो ।
उपत्यकामा सवारी दुर्घटना बढ्दै गएको छ । यसको मुख्य जिम्मेवार पक्ष भनेकै चालक र यात्रु हुन् । उपत्यकामा ४५ वर्षदेखि सवारी चलाउँदै आउनुभएका ७६ वर्षे चालक होमबहादुर लुङ्गेली मगरले भन्नुभयो, “दुर्घटनाको मुख्य कारण चालकको लापरबाही नै हो । नयाँ चालक छन् । नयाँ गाडी पाएपछि जथाभावी हुइँक्याउँछन् । सडकको अवस्था हेर्दैनन् । अनि गाडी नियन्त्रण गर्न सक्दैनन् । दुर्घटना हुन्छ । ”

नयाँ सडकको प्रवेशद्वारदेखि जुद्ध सालिकसम्म छ स्थानमा जेब्रा क्रसिङ छ तर पाइलैपिच्छे बाटो काट्नेहरू देख्न पाइन्छ । सभ्य र पढालेखाहरू पनि जथाभावी सडक वारपार गर्दै गरेका हुन्छन् । वीर अस्पताल, भोटाहिटी, रत्नपार्क आदि स्थानमा आकाशे पुल छन् तर त्यसको मुन्तिरबाटै बाटो काटिरहेका बगे्रल्ती फेला पछर््न् । भोटाहिटीबाट निस्किएर रत्नपार्कतर्फ हतारिएर जान लाग्नुभएका नयाँ बानेश्वरका जीवन मण्डलले आकाशे पुलबाट नभई पुल तलबाट हिँडेर सडक पार गर्दै थिए ।
केही वर्षअघिसम्म ट्राफिक प्रहरीले सडक दुर्घटनालाई कमी गर्न जथाभावी सडक पार गर्ने यात्रुमाथि जरिवाना गर्ने अभियान थालेको थियो तर यो कार्य लोकप्रिय बन्न सकेन र प्रहरीले रोक्नु प¥यो । रत्नपार्कदेखि बागबजार जानका लागि आकाशे पुल छ तर पुलमुनिबाट हिँड्नेहरूलाई देखेर त्यहाँ खटिएका ट्राफिक प्रहरी मूकदर्शक मात्र बन्ने गरेका छन् । सोही स्थानमा खटिनुभएका महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका ट्राफिक प्रहरी वैकुण्ठ पोखरेलले आकाशे पुल हुँदाहुँदै पनि तलबाट सडक पार गर्नेहरू देख्दा दिक्क लाग्ने गरेको बताउँदै थप्नुभयो, “कति हेरिरहने रु यिनैले गर्दा सडक दुर्घटना हुन्छ । ”
कलङ्कीदेखि कोटेश्वरसम्मको चक्रपथ फराकिलो गरिएपछि त्यहाँ सवारीसाधनको चाप निकै बढ्न पुगेको छ । फराकिलो सडकका कारण सवारीसाधनको वेग पनि निकै हुने गरेको छ । कमै स्थानमा मात्र आकाशे पुल छन् भने जेब्राक्रस पनि कम स्थानमा छन् । त्यसैले यात्रुहरूले जथाभावी सडक पार गर्नुपर्ने बाध्यता छ । एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीहरूको निकै भीड हुने गरेको छ तर वारितर्फका मानिस सो कार्यालयमा जान एकान्तकुना चोक वा महालक्ष्मीस्थानसम्म आइपुग्नुपर्दछ । एक किलोमिटरको दूरीमा जेब्राक्रस नहुँदा सेवाग्राहीहरूले सडकको बीचमा राखिएका डिभाइडर नाघेर जथाभावी सडक पार गर्नुपर्ने अवस्था छ र यसले गर्दा त्यस स्थानमा सबैभन्दा बढी सडक दुर्घटना हुने गरेको छ ।

ट्राफिक प्रहरी वृत्त जनसेवाका ट्राफिक प्रहरी प्रकाशदत्त ओझाले सडक दुर्घटना हुनुमा चालक मात्र दोषी नभई यात्रु पनि उत्तिकै दोषी हुने गरेको बताउँदै थपे, “जेब्रा क्रसिङबाट बाटो कमैले काट्छन् । मोरङको कानेपोखरीका खिलप्रसाद सुवेदीले अत्यधिक गतिमा सवारीसाधन चलाउने र यात्रुले जथाभावी सडक पार गर्न खोज्नु नै दुर्घटनाको कारण हुनसक्ने बताए । आफूले सधैँ जेब्राक्रस वा आकाशे पुलबाट मात्र बाटो काट्ने गरेको बताउँदै उनले बाटोको क्षमताभन्दा बढी सवारीसाधन चलाउन अनुमति दिँदा सडक सुरक्षित बन्न नसकेको तर्क उनको छ । रत्नपार्क आइपुग्दा मोबाइल फोन बजेपछि छेउ लागेर फोनमा व्यस्त भएका थानकोटका सरोज सिग्देलले यात्रुहरू फोनमा झुन्डिएर बाटो काट्दा दुर्घटना हुने गरेको बताए। बा। ४ ख ९०८३ नम्बरको बसका चालक दीपेश खत्रीले प्रतिस्पर्धाका कारण गाडी हुइँक्याउनुपर्दा दुर्घटना हुने गरेको बताए।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot