Logo

भाइसँग डीएनए मिलोस्



काठमाडौँ, १५ पुस । सल्यान रोड, तुलसीपुर दाङकी सुदा रिजाल एक्लै हुनासाथ कल्पना गर्छिन्– ०६१ जेठ २ नहुँदो त जीवन कति खुसी हुने थियो । बुबाको संरक्षण, भाइको माया । तर, जीवन सोचेजस्तो कहाँ हुन्छ र झन्डै डेढ दशकअघिको त्यो दिन, जसले उनलाई माइतीविहीन बनायो । उनी बिर्सन त खोज्छिन्, तर नसम्झेर कहाँ धर ।

आमाको रिक्ततामा उनलाई बाले दुःखसुख हुर्काइरहेका थिए। त्यस दिन उनी घरमै थिइन्। बा चारवर्षे भाइलाई लिएर घरबाट निस्किए। कतै काम परेर गएको ठानेर उनी आफ्नै धुनमा बसिन्। भाइ बोकेर गएका बा त्यसपछि घर फर्किएनन्। कैयौं दिन बिते तर बा र भाइको पत्तो लागेन। १२ वर्षकी सुदा त्यसपछिका दिन आफन्तको छहारीमा हुर्कंदै गइन्। केही दिनपछि ठूलोबुबाले पत्रिकामा बा र भाइ हराएको सूचना निकाले। तर, कसैले पनि भेटिएको खबर दिएनन्। सुदाको मन भाइलाई सम्झेर पिरोलिइरह्यो। १७ वर्षमा उनको विवाह भयो। विवाहको केही वर्षपछि श्रीमान्सँगै भारतको सिमला पुगिन्। श्रीमान् स्याउ बगानमा काम गर्थे। उनी सडकमा भेटिने बेसहारा ससाना बाबुहरू देख्दा आफ्नै भाइ पो हो कि भनेर झस्किन्थिन्। कोही–कोहीसँग त नाम र ठेगान नै सोध्थिन्।

आठ वर्षअघि उनीहरू तुलसीपुर फर्किए। बेलाबेला उनलाई बा र भाइको खोजीमा निस्कौं जस्तो लाग्थ्यो। तर, खोज्न त्यति सजिलो थिएन। ‘कहीं नाम नखुलेको लास छ भन्ने सुन्नासाथ त्यहीं पुग्थें,’ सुदा भन्छिन्, ‘कतै बेवारिसे भेटियो भने भाइ नै हो कि भन्ने लाग्थ्यो।’ रोगी बा त पक्कै यतिका वर्ष बाँचेनन् होला भन्ठानेर केही वर्षयता उनी भाइकै मात्र खोजीमा केन्द्रित हुन थालिन्।

त्यसका लागि उनी कहाँसम्म पुगिनन्
करिब दुई वर्षअघि एक आफन्तले साँझमा घरमै आएर बुबा र भाइ भेटिएको कुरा सुनाए। उनीहरू नेपालगन्जको एउटा घरमा बसेको अपूरो सूचना दिए। खबर सुनेको रात सुदा झिमिक्क निदाउन सकिनन्। बिहान सबेरै उठेर तुलसीपुरबाट नेपालगन्ज हान्निइन्। चर्को घामको पर्वाह नगरी घर खोजिन्। भेटेजति मान्छेलाई सोधिन्। तर, प्रयास व्यर्थै भयो। आफन्तले दिएको सूचना मिलेन। उनी निराश भएर फर्किइन्।

त्यसको केही महिनापछि कसैले उनलाई सुनायो, दाङको घोराहीमा एउटा केटा छ रे। सानै उमेरमा बुबासँग घरबाट निस्केको रे। उनी घोराही नै पुगिन्। तर, त्यो केटाको विवरणसँग भाइको विवरण मेल खाएन। रोजगारीका निम्ति दुबई पुगेका श्रीमान्ले उतैबाट सुनाए, ‘काठमाडौंको होटलमा एउटा केटा छ रे, सानैमा बुबासँगै घरबाट निस्केको, कतै तिम्रो भाइ नै पो हो  किरु’ दसैंको चटारोले छोपेको थियो। उनी सबथोक छाडेर अष्टमीका दिन काठमाडौं पुगिन्। श्रीमान्ले भनेको होटलमा पुगिन्। सोधखोज गर्दा श्रीमान्ले भनेको मान्छे त्यहाँ थिएन। सुदा नपुग्दै उसलाई अभिभावकले जिम्मा लिइसकेका थिए। फेरि निराश बनेर घर आइन्।

तीन महिनाअघिको एउटा खबरले भने उनको जीवनमा भिन्न किसिमको खुसी सञ्चार गरायो। घरमै बसिरहेका बेला छिमेकी दिदीले सुनाइन्, ‘न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’मा एउटा बच्चाको फोटो देखाएको थियो, मलाई त तिम्रो भाइजस्तो लाग्यो।’ उनले युट्युबमा कार्यक्रम हेरिन्। त्यसमा भारतको राजधानी दिल्लीछेउ आश्रममा बस्ने, अभिभावकको परिचय नखुलेको एक नेपाली किशोरका बारेमा जानकारी दिइएको थियो। कार्यक्रममा किशोरका बाल्यकालीन केही तस्बिर पनि देखाइएको थियो। उनको भाइको नाम दशरथ थियो। कार्यक्रममा देखाइएको किशोरको नाम अनिल। तैपनि उनलाई किनकिन त्यो किशोर आफ्नै भाइजस्तो लाग्यो। उनले मन बुझाइन्, भाइले नाम फेर्‍यो होला।………….
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्