काठमाडौँ, २० पुस । सुर्खेतको बराहताल गाउँपालिका–६ ब्युरेनीकी मनिसरा गिरीको घरछेउमै दुईवटा छाउगोठ महिनाबारी भएको बेला बस्ने ठाउँ थिए। आँगननजिकै खरले छाएको र झारले बारिएको अस्थायी छाउगोठभित्र पराल र कपडा राखिएको थियो। छाउगोठ भत्काउन शुक्रबार प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली गिरीको घरमा पुग्दा उनी छाउगोठनजिकै आगो तापिरहेकी थिइन्। ‘पानी परिरहेकाले घरको गोठमा चिसो हुन्छ,’ उनले प्रजिअ नेतृत्वको टोलीसमक्ष भनिन्, ‘त्यसैले अस्थायी टहरो बनाएर बसेकी हुँ।’
छाउ महिनाबारी नबार्ने विषयमा उनको धेरैपटक पतिसँग विवाद पनि भयो। ‘म धामी हुँ, छाउ भएका बेला तिमी घरभित्र पसे मलाई अनिष्ट हुन्छ भन्नुहुन्छ,’ पतिलाई उद्धृत गर्दै गिरीले भनिन्, ‘छाप्रोमा सात दिन बिताउनु हाम्रो रहर होइन, बाध्यता हो। महिनाबारी हुँदा घर पस्न नदिने पुरुषलाई कारबाही नहुँदासम्म छाउपडी कुप्रथा अन्त्य हुँदैन्।’ गिरीका पति लालमणि धामी हुन्। छाउगोठ भत्काउन सरकारी टोली पुगेका बेला भने उनी गाउँमै देखिएनन्। ब्युरेनीकै अगिसरा सुनारको घरसँगै टाँसिएको बाख्राको खोर छ। त्योभन्दा अलि टाढा महिनाबारी हुँदा बस्ने छाउगोठ छ।
‘राति केही घटना भइहाले पनि घरकाले सुन्दैनन्, उनले भनिन्, ‘हाम्रा लोग्ने पति खसी–बाख्रालाई जति पनि हामीलाई हामीलाई गर्दैनन्।’ ब्युरेनी गाउँलाई २०७१ सालमै छाउगोठमुक्त घोषणा गरिएको थियो। तत्कालीन गाविस, गैरसरकारी संस्थालगायतको पहलमा छाउगोठमुक्त घोषणा गरिए पनि कार्यान्वयन हुन पाएन। छाउगोठमुक्त घोषित गाउँमै फेरि छाउगोठ ठडिन थाले। सुर्खेतका नौ स्थानीय तहमध्ये पश्चिमका तीनवटामा छाउपडी कुप्रथा छ।
नागरिक दैनिकबाट