Logo

केन्द्रिय समिति बैठकको निर्णय फिर्ता नलिने देउवाको अडान, असन्तुष्ट पक्ष के गर्ला ?



पुष २६, काठमाण्डौ । नेपाली कांग्रेस देशको सबैभन्दा पुरानो लोकतन्त्रवादी पार्टी भए पनि नेताहरुले केही वर्ष यता पार्टीलाई विधिसम्मत लोकतान्त्रिक पद्धतिमा सञ्चालन गर्न सकेका छैनन् । पार्टी विधान, लोकतान्त्रिक मूल्य, राष्ट्रिय हित र जनभावनामा केन्द्रित नभइ गुटगत र भागबण्डाको राजनीतिमा लाग्दा कांग्रेसको अस्तित्वनै संकटमा पर्ने त होइन भन्ने सम्मको टिका टिप्पणी हुन थालेको छ ।

आफुलाई देशकै पुरानो र लोकतन्त्रको मियोका रुपमा चित्रण गर्ने नेपाली कांग्रेस कतातिर जादैं छ भन्ने कुरा केहीदिन अघि कांग्रेस पार्टी कार्यलयमा देखिएका दृश्यहरुले स्पष्ट हुन्छ । गत पुष ११ गते बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बहिष्कारका विच बसेको केन्द्रिय समिति बैठकले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका,विभाग गठन र तरुणदलको म्याद ६ महिना थप लगायतका निर्णय गरेको थियो । उक्त निर्णय गर्नु भन्दा पहिला देखिनै असन्तुष्ट पौडेल पक्ष उक्त निर्णय पछि झ्न बिच्किए । र सभापति देउवाविरुद्ध जिल्ला सभापतिहरु सहितको भेला बोलाएर निर्णय सच्याउन दवाव दिए । तर सभापति देउवा कुनै पनि हालतमा उक्त निर्णय सच्याउन तयार नभएको देउवा निकट नेता एनपी साउद बताउँछन् ।

सभापति देउवाको कार्यकाल आगामी पाmगुन २० गते सकिदै छ । त्यसैले पनि देउवाले म्याद सकिनुभन्दा पहिला नै पार्टीको विभाग गठन, संघीय संरचना अनुसार पार्टीको संरचनाहरु बनाउन लागीपरेको उनी निकट नेताहरुको भनाइ छ । यदि आफ्नो ४ बर्षे कार्यकाल सकिनु अघि नै ति कामहरु नगरे थपिएको म्यादमा गरे भने गलत अर्थ लाग्ने र महाधिवेशनमा यही कुरालाई मुख्य विषय बनाएर आफुविरुद्ध मोर्चाबन्दी हुने देउवाको बुझाइ छ ।

त्यसैले पनि सहमतीको प्रयास गर्ने र नभए बहुमतबाट निर्णय गर्ने पक्षमा देउवा रहेको नेता साउद बताउँछन् । तर उता पौडेल पक्ष भने सभापतिलाई जसरी पनि निर्णय सच्याउन दवाव बढाउने रणनीतिमा छन । संगठनको सिद्धान्त र नेताको आचरण मिलेन भने विसंगति र विकृति बढ्छ । नेपाली कांग्रेसमा केही वर्ष यता देखिएको भद्रगोलले यसको पुष्टि गरेको छ ।



प्रतिक्रिया दिनुहोस्