Logo

सभामुख बन्नेमा नेम्वाङ ढुक्क, देउवाको साथ



काठमाडौं, २७ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ आफू नै अबको सभामुख बन्नेमा पूर्ण विश्वस्त देखिएका छन् । प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्नेबारे अहिलेसम्म सत्तारुढ दल नेकपाले कुनै निर्णय गरेको छैन् । तर, प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली नेम्वाङलाई नै सभामुख बनाउने पक्षमा छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने कुनैपनि हालतमा नेम्वाङलाई बनाउन नहुने अडानमा छन् ।

नेकपाका अध्यक्षद्धय ओली र दाहालबीचको रस्साकस्सीले गर्दा सिँगो संसद नै बन्धक बनेको नेकपाका सांसदहरुको आरोप छ । पूर्व माओवादी केन्द्रका नेताहरुले सभामुख कुनैपनि हालतमा आफूहरुले नै पाउनुपर्ने बताउँदै आएका छन् । यसको लागि देवप्रसाद गुरुङ, अग्नि प्रसाद सापकोटा र पम्फा भुषालको नाम चर्चामा छ । अध्यक्ष दाहालले आफ्ना विश्वासपात्र समेत रहेका नेता सापकोटालाई सभामुख बनाउनेगरि अर्का अध्यक्ष ओलीसामू नाम प्रस्ताव गरेका छन् ।

कृष्णबहादुर महरा यौनकाण्डमा फसेपछि सभामुख पद रिक्त छ । ठूलो दल भएको नाताले सभामुखमा नेकपाको दाबी छ । सोहीअनुसार हिजो बसेको नेकपा सचिवालय बैठकले वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेको छ। तर, उनले कुनैपनि हालतमा आफूले राजीनामा नदिने अडान अध्यक्षद्धयसामू गरिसकेकी छिन् । उनले आफू नै सभामुखको लागि योग्य उम्मेद्धवार भएको दाबी गर्दै आएकी छिन् । सभामुखले राजीनामा दिएपछि उपसभामुख नै स्वतः सभामुखको दाबेदार हुने उनको तर्क छ ।

यता, नेकपामा पूर्व एमालेबाट सभामुखको लागि चर्चामा रहेका नेम्वाङ भने आगामी माघ ६ गते विहानसम्म पार्टीले उम्मेद्धवार तय गर्नेमा ढुक्क छन् । कसलाई बनाउने भन्नेबारे पार्टी अहिले आन्तरिक छलफलमा जुटेको उनको भनाई छ । महराले राजीनामा दिएपछि नै सभामुखमा नेम्वाङको नाम चर्चामा थियो ।

स्रोतकाअनुसार नेम्वाङ सभामुखको उम्मेद्धवार बने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेद्धवारी नदिने र सहमतिको सभामुख बनाउने निश्कर्ष निकालिसकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको एक भेटमा देउवाले नेता नेम्वाङको हात समाउँदै ‘सभामुखमा तपाई उम्मेद्धवार बन्ने हो भने हामी पार्टीको तर्फबाट उम्मेद्धवारी दिँदैनौं’ भनेर ढाढस दिएको पनि स्रोतले जनाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot