Logo

ब्युँझिएनन् आठै जना



काठमाडौँ, ८ माघ । १५ जना भारतीय पर्यटक सोमबार राति साढे ९ बजे दामनस्थित एभरेस्ट पानोरमा रिसोर्ट पुगे। सातजना खाना खानेबित्तिकै कोठामा सुत्न गए। आठजना भने रेस्टुरेन्टमै ग्यास हिटरको तातोमा बसेर गफिए। चार बालबालिकाबाहेक अरूले आफैं बोकेको मदिरा सेवन गरे।

उनीहरू राति १ बजे कोठामा सुत्न गए। तर, ‘कोठा चिसो छ’ भन्दै रेस्टुरेन्टमा रहेको ग्यास हिटर लिएर गएको होटलका म्यानेजर शिव केसीले बताए। उनका अनुसार प्रवीणकृष्ण नायरले हिटर दिन आग्रह गरेका थिए। ‘हिटर बालेर सुत्दा खतरा हुन्छ, मध्यरात भइसकेकाले सुत्न हामीले अनुरोध गर्‍यौं’, उनले भने। ती आठजनाका लागि सोमबारको रात नै जीवनको अन्तिम क्षण बन्न पुग्यो। ‘बिहान करिब ८ बजे होटलका कर्मचारी चिया लिएर जाँदा ढोका नखुलेपछि हामीले अर्को कोठामा बस्ने उहाँहरूका साथीहरूलाई खबर गर्‍यौं’, उनले भने, ‘अर्को कोठामा बस्नेहरूले ढोका खोल्दा सबै जना अर्धचेत अवस्थामा भेटियो।’

थाहा नगरपालिका–४ दामनस्थित उक्त रिसोर्टमा अर्धचेत अवस्थामा रहेका आठै जनालाई कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको थियो। काठमाडौंस्थित ह्याम्स अस्पतालले मंगलबार मध्याह्न उनीहरूलाई मृत घोषणा गरेको हो। होटलबाट हतारहतार अस्पताल पुगेका रामकुमार यूकेसहित सात जनाले उनीहरूलाई जीवित भेट्न सकेनन्।

मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रञ्जितकुमार पी, उनकी श्रीमती ३४ वर्षीया इन्द्रक्ष्मी र उनीहरूका छोरा ५ वर्षीय वैष्णव रञ्जित रहेको जिल्ला प्रहरी मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए। उनीहरूसँगै एउटै कोठामा सुतेका ३७ वर्षीय प्रवीणकृष्ण नायर र उनकी श्रीमती ३२ वर्षीया शाक्य शशी, उनीहरूका छोरा ५ वर्षीय अभी, छोरीहरू ७ वर्षीया अर्चना र ९ वर्षीया बन्द्राको मृत्यु भएको हो।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्