Logo

प्रचण्डलाई केन्द्रिय कमिटी बैठकमा देखाईदिने ओलीको तयारी



काठमाडौं, १४ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय कमिटी बैठक भोलिबाट बस्ने तयारी छ । तर, पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उक्त बैठकमा र्याखर्याख्ती पार्नेगरि रणनीति बनाएका छन् ।

पार्टी अध्यक्ष भएर गुटबन्दी गर्नतिर बढि समय व्यतित गरेको भन्दै सचिवालय सदस्य वामदेव गौतमको भैंसेपाटीस्थित् निवासमा गरेको भेलाको बारेमा स्पष्टीकरण लिनेसमेत ओली पक्षको तयारी छ । गौतम निवासमा भएको भेलाले नै ओलीलाई सभामुख चयनमा अल्पमतमा पारेको थियो । त्यहाँदेखि ओली अर्का अध्यक्ष दाहालसँग रुष्ट छन् । दाहाललाई देखाउनेगरि केन्द्रीय कमिटीको बैठकमा खरा उत्रिनसमेत उनले आफूनिकट केन्द्रीय सदस्यहरुलाई तयारी थाल्न लगाएका छन् ।

हिजोमात्रै अध्यक्ष दाहाल ‘प्रचण्ड’ले आफू केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको जानकारी गराएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र आदिवासी जनजाति महासङ्घ, नेपालको एकता घोषणा तथा शपथ ग्रहण समारोहमा उनले बुधबारदेखि हुने पार्टीको केन्द्रीय कमिटी बैठकको तयारीमा आफू रहेको बताएका छन् । उनले पार्टीको कामको चापले त्यति धेरै तयारी गर्न नपाएको समेत बताए । पार्टीको केन्द्रीय कमिटी बैठक यही माघ १५ देखि २० गतेसम्म डाकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot